राजनीति

सत्ता गठबन्धनमा आपसी अविश्वास उत्पन्न हुने खतरा (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २ गते २०:५५
सत्ता गठबन्धनमा आपसी अविश्वास उत्पन्न हुने खतरा (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । संघीय निर्वाचनसम्मै गठबन्धन कायम राख्ने दाबी गर्दै आएका सत्तारुढ दलहरुको गठबन्धन स्थानीय तहको निर्वाचनमै भत्किने खतरा देखिएको छ ।

सत्ताघटक दलहरु आआफूलाई अनुकुल हुने गरी तालमेल गर्ने र नभए एक्ला एक्लै प्रतिस्पर्धा गर्ने रणनीति बनाउन थालेपछि आपसी अविश्वास उत्पन्न हुने र यसले गठबन्धन नै जोखिममा पर्ने संभावना देखिएको हो ।

पाँच दलीय गठबन्धन बनेयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर रुपमा तीनै तहको निर्वाचनसम्मै गठबन्धन कायम रहने दाबी गर्दै आउनु भएको थियो । प्रचण्डसँगै हो मा हो मिलाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि तीनै तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा हुने बताउँदै आउनु भएको थियो ।

एक्लै चुनावमा जानुपर्ने मत पार्टीभित्र बलियो हुँदाहुँदै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गठबन्धन बनाएर जानुपर्ने अडान राख्दै आउनु भएको छ । तर पछिल्ला घटनाक्रमहरुले स्थानीय तहको निर्वाचनमै गठबन्धनमा आवद्ध दलहरुका बीचमा पूर्ण रुपमा तालमेलको सम्भावना कमजोर देखिएको छ ।

शुक्रबार आफ्नै निवास खुमलटारमा बसेको पार्टीको बैंठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तालमेल सहज नभएको अभिव्यक्ति दिनुभयो । कतिपय स्थानमा सत्तागठबन्धनका दलहरु बीचमा तालमेल हुन सक्ने, नभए अन्य दलहरुसँग र त्यो पनि नभए एक्लाएक्लै चुनावमा होमिनुपर्ने अवस्था आउन सक्ने प्रचण्डको भनाइले गठबन्धनको भविस्यमाथि आशंका उब्जाएको हो ।

प्रचण्डले कांग्रेसभन्दा एकीकृत समाजवादी पार्टी तालमेलमा इमान्दार नदेखिएको गुनासो गर्नुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमा अहिले पनि आफू एमाले नै रहेको मनोविज्ञान कायम रहेको र सोही अनुसार गठबन्धनमा भाग खोज्ने गरेको प्रचण्डको आरोप छ ।

प्रचण्डको आरोप जस्तै एकीकृत समाजवादीका नेताहरुले पनि एमालेले जितेका स्थानीय तहमा आफ्नो पार्टीको स्वभाविक दाबी रहेको बताउने गरेका छन् । एमालेले जितेको काठमाडौं र पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आफूले पाउनुपर्ने अडान राख्दै आएको छ ।

कांग्रेस नेतृत्व भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्न तयार भए पनि कुनै पनि हालतमा छाड्न नहुने स्थानीय नेतृत्वको अडानका कारण भरतपुर महानगरपालिकामा पनि समस्या छ । पोखरा महानगरमा पनि कांग्रेसको स्थानीय नेतृत्वले अरुलाई छाड्न नसकिने भन्दै खबरदारी गर्दै आएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी मात्रै नभएर गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी पनि आफू अनुकुल तालमेल गर्ने मनस्थितिमा छ । नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससंग तालमेल हुन नसक्ने जसपाको निर्णयले पनि गठबन्धनको संकट अनुमान लगाउन सकिन्छ । नेपाली कांग्रेसलाई दिने मोटामोटी सहमति भएको भनिएको बिराटनगरमा पनि जसपाले दाबी गरिरहेको छ ।

महानगरपालिका, उपमहानगरपालिका जस्ता ठूला स्थानीय तहमा मात्रै नभएर सबै स्थानीय तहमा सहमतिमा उम्मेदवारी तय गर्नु गठबन्धनका लागि फलामको चिउरा चपाउनु जस्तै भएको छ ।

गठबन्धनमा आवद्धदलहरुले आफूलाई सहज भएको स्थानमा एक्लाएक्लै निर्वाचनमा जाने र जित्ने संभावना कतैबाट नदेखेको अवस्थामा मात्रै तालमेल गर्ने रणनीति बनाउन थालेपछि समस्या उत्पन्न भएको हो । तालमेलको मोडालिटी तयार गर्दै केही दिनअघि मात्रै सार्वजनिक अपिल गरेका गठबन्धनका दलहरुबीच स्वार्थ बाझिँदा चुनावी तालमेल संकटमा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्