Main News

दलहरुलाई उम्मेदवार छनोटको चटारो (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २ गते २०:४९
दलहरुलाई उम्मेदवार छनोटको चटारो (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरुलाई उम्मेदवार छनोटको चटारो र सकसले च्यापेको छ। गठबन्धनको सन्तुलन र पार्टीभित्रको छिनाझपटीको व्यवस्थापनमा दलहरु असफल देखिएका छन् । एक मेयर र उपमेयरका लागि दर्जनौं नाम सिफारिसको लर्कोले पनि उपल्लो तहको नेताको मुख ताकेको प्रष्ट भएको छ।

राजधानी काठमाडौं उपत्यकाभित्रका दुई महानगर ललितपुर र काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियान थालिसक्दा पनि प्रमुख दलका उम्मेदवारहरुको खासै टुंगो छैन । ललितपुर महानगरपालिकामा एमालेले २०७४ सालको निर्वाचनमा मेयरमा पराजित उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई चुनावी मैदानमा उतार्ने सर्वसम्मत् निर्णय गरेको छ ।

उता गठबन्धनमा आबद्ध ५ दलका तर्फबाट ललितपुर कसको भागमा पर्ने नै टुंगो लागेको छैन । आफूले विगतमा एक्लै प्रतिष्पर्धा गरेर जितेको ललितपुरमा दाबी गर्दै काँग्रेसले ७ जना उम्मेदवारको नाम मेयरमा सिफारिस गरेको छ। ललितपुर महानगर कार्यसमितिले मेयरमा जिल्ला सभापति शुभानन धाख्वा, पूर्वसभापति राजेश महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेकै उपमेयर गीता सत्याल, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछयो, प्रेम कृष्ण महर्जन र अनन्त प्रकाश श्रेष्ठको माथिल्लो समितिमा पठाएको छ।

यसअघि २०७४ को चुनावमा काँग्रेस उम्मेदवार चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मतका साथ जीत दर्ता गर्दा एमाले उम्मेदवार ब्यञ्जनकार २४ हजार ३ सय १६ मतमा समेटिनुभएको थियो । ललितपुरमा काँग्रेसले उम्मेदवार सिफारिस गरिसक्दा पनि गठबन्धन दलमध्ये एकीकृत समाजवादीले पनि मेयरमा दाबी गरेकाले उम्मेदवार टुंग्याउन सकस परेको हो ।

उता सर्वाधिक चासो र चर्चामा रहेको काठमाडौं महानगरपालिकामा नेकपा एमालेले वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित र पूर्व राज्यमन्त्री रामवीर मानन्धरको नाम सिफारिस गरेको छ।

यसैगरी राजधानीको नगरपिताका लागि एमालेले पार्टीका जिल्ला अध्यक्ष निर्मल देउलाको नाम समेत सिफारिस गरेको छ। अझ रोचक कुरा त एमालेले नेकपा एकीकृत समाजवादीका तर्फबाट बागमती प्रदेशका मन्त्री वसन्त मानन्धरकी पत्नी तथा एमाले नेतृ इन्दिरा पन्तको नाम समेत मेयरमा सिफारिस गरेको छ।

सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरको मेयर उम्मदवारी नेपाली काँग्रेसले पाउने करिब निश्चित भए पनि उसले हालसम्म उम्मेदवारको टुंगो लगाएको छैन । कांग्रेसबाट विभिन्न नाम चर्चामा आए पनि नेता प्रकाशमान सिंह पत्नी सृजना सिंहलाई उम्मेदवार बनाइने चर्चा छ ।

हालकी उपमेयर हरिप्रभा खड्की, पूर्वमन्त्री भीमसेनदास प्रधान, नेता तीर्थराम डंगोल लगायतको नाम चर्चामा आएपनि सिंहकै हरियो झण्डाले टिकट पाउने हुँदा पनि सृजनाको सम्भावना बलियो मानिएको छ।

उता गत स्थानीय निर्वाचनमा चर्चामा रहेर जुट, फुट र फेरि फुटको पर्याय बनेको विवेकशील साझाले समीक्षा बाँस्कोटालाई प्रमुखको उम्मेदवार बनाउने भनेको छ। स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका बालेन शाहले प्रचारलाई तिब्र बनाउनु भएको छ भने पूर्वमिस नेवा सुनिता डंगोलले घोषणापत्र नै सार्वजनिक गर्नुभएको छ।

गत निर्वाचनमा राप्रपा सहितको गठबन्धनका तर्फबाट एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीलाई काठमाडौंको मेयरमा पराजित गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार चयन गर्न गठबन्धनभित्र सकस छ । कांगेसको तर्फबाट महानगरमा उपमेयर हरिप्रभा खडगी र महासमिति सदस्य सृजना सिंह बलियो आकांक्षी देखिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *