समाज

सुर्खेतको धुलियाविट–भेडावारी जोड्ने मार्ग अलपत्र (भिडियो रिपोर्टसहित)

२०७८ चैत ३० गते २१:१८
सुर्खेतको धुलियाविट–भेडावारी जोड्ने मार्ग अलपत्र (भिडियो रिपोर्टसहित)

३० चैत २०७८ सुर्खेत । सुर्खेतको पूर्वी क्षेत्र जोड्ने धुलियाविट–भेडावारी सडक अर्थात मदन भण्डारी राजमार्ग निर्माणमा ढिलाई भएको छ । सडक विस्तार भइरहँदा समयमै रुख कटान नहुँदा र विद्युतका पोल नहट्दा निर्धारित समयमा नै सडक कालोपत्रे नहुने अवस्था आएको हो ।

२०३२ सालमा तत्कालिन राजा वीरेन्द्रलाई देखाउनकै लागि धुलियाविट–भेडावारी सडकको ट्याक खोलियो । झण्डै साढे चार दशकपछि यो सडकलाई मदन भण्डारी राजमार्ग नामाकरण गरेर कालोपत्रे गर्ने काम जारी छ ।

स्थानीय वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या भोग्न बाध्य थिए । सडक कालोपत्रे हुने भएपछि उनीहरुमा खुसी छाएको थिए । तर, रुख कटान र विजुली पोल सार्न समस्या हुने भएपछि सडक समयमा नै नबन्ने भएको हो । समयमा सडक निर्माण कार्य सक्न स्थानीयले भने दवाव दिइरहेका छन् ।

धुलियाविट–भेडावरी–वोटेचौरसम्मको ३५ किलोमिटर मध्ये रुख काट्न नपर्ने क्षेत्रमा कल्भर्ट, नाली, पर्खाल लगायतको काम भइरहेको छ । २०७८ असार २८ गते ३० महिनामा सम्पन्न गर्नेगरी निर्माण सम्झौता भएको थियो । टाँचा लगाएका १ हजार ४ सय बढी रुखहरु काट्न वन कार्यालय उदासिन छ । मन्त्रिपरिषद्को अनुमतिमा मात्र रुखकाट्न पाउने नियम भएका कारण निर्णय लिन नसकिएको जिल्ला बन कार्यालयले जनाएको छ ।

सल्यान र सुर्खेतको सीमाना काल्चेदेखी लगामसम्म सडकको कुल लम्बाई १७४ किलोमिटर छ । यो सडकले पूर्वमा लेकबेँसी, गुर्भाकोट, वीरेन्द्रनगरहुँदै पश्चिमका बराहताल, पञ्चपुरी र चौकुनेको भू–भागलाई समेट्छ ।

धुलियाविट–बाँगेशीमलसम्म फोरलेन र बाँगेशीमल–बड्डीचौरसम्म कर्णाली राजमार्ग पर्ने भएकाले सडक कालोपत्रे गरिएको छ । तर बड्डीचौर–गुटु–लगामको ९४ किलोमिटर सडक कच्ची नै छ । रुख काट्ने विषयमा वन कार्यालयलाई पत्र पठाईसकेको र निर्णय हुने वित्तिकै बन क्षेत्रमा काम अघि बढ्ने मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ ।

सडक निर्माणको जिम्मा कालिका, केएस, भेरासी जेभीले लिएको छ । सडकको कुल लागत एक अर्ब तीन करोड छ । सडक समयमा नै सम्पन्न भएमा यहाँ कृषी उत्पादनको बजारीकरणमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *