समाज

चुनावमा साना हतियार प्रयोगको आशंका, सीमा क्षेत्रमा कडाइ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ३० गते १८:५१
चुनावमा साना हतियार प्रयोगको आशंका, सीमा क्षेत्रमा कडाइ (भिडियो रिपोर्टसहित)

३० चैत २०७८ बाँके । स्थानीय तह निवार्चन नजिकिएसँगै खुल्ला सीमा रहेको भारतबाट साना हतियार भित्राउने क्रम पनि बढेको छ ।

सम्भावित खतरालाई मध्यनजर गरी प्रहरीले सशस्त्र समूहमा संलग्न व्यक्तिहरुमाथि निगरानी बढाएको छ । पछिल्ला ३ महिनामा बाँके प्रहरीले ५ थान सानो हतियारसहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ । ३ जना अझै फरार रहेका छन् ।

लुकाउन सजिलो हुने र आवश्यक परेका बेला सहजै प्रयोग गर्न मिल्ने भएकाले आपराधिक व्यक्तिहरुको रोजाईमा साना हतियार पर्ने गरेको छ । स्थानीय तहको निर्वाचनमा भूमिगत सशस्त्र समूह, राजनीतिक दल सम्बद्ध युवा दस्ता र डनहरुले साना हतियार प्रयोग गर्न सक्ने आँकलन सुरक्षा अधिकारीहरुको छ ।

प्रचलित कानूनअनुसार लाइसेन्स नलिइ हतियार राख्न पाइँदैन । अवैध हतियार राखेको फेला परेमा त्यस्ता व्यक्तिलाई ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । तर, शक्तिको आड वा शक्ति संचय गर्न गैरकानूनी रुपमा साना हतियार राख्ने गरेका छन् । आपराधिक घटनालाई राजनीतिकरण गरी संलग्न व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिका कारण चुनावमा हिंसात्मक घटना हुने संभावना उच्च छ ।

बाँके प्रहरीको तथ्याङ्कअनुसार करिब १ हजार अभियुक्त फरार छन् । जघन्य अपराधमा संलग्न फरार अभियुक्तले कुनै पनि बेला आपराधिक घटना गराउन सक्ने जोखिम छ । नेपालमा अपराध गरेर सिमावर्ती क्षेत्रमा लुकीछिपी बस्दै आएका अपराधीहरुलाई भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरेर नियन्त्ररणमा लिने प्रयास नेपाल प्रहरीले गरिरहेको छ ।

राजनीतिक दलले चुनाव जित्नका लागि नै आपराधिक पुष्ठभूमि भएका र डनहरुलाई पार्टी प्रवेश गराउने वा प्रयोग गर्ने गरेका छन् । राजनीतिक संरक्षण पाइन्छ भन्ने आशामा आपराधिक पुष्ठभूमि भएकाहरु पनि प्रयोग हुन तयार रहन्छन् ।

तथ्याङ्कमा साना हतियार
०७६–०७७ मा ७ थान साना हतियार र त्यसका लाग्ने ७१ थान गोलीसहित १२ जना पक्राउ परेका थिए ।

०७७–०७८ मा ५ वटा कटुवा पेस्तोल ८ वटा भरुवा बन्दुक र त्यसमा लाग्ने १३ थान गोलीसहित १९ जना पक्राउ परेका थिए ।

२०७८को साउनदेखि फागुन मसान्तसम्म ७ वटा पेस्तोल र त्यसमा लाग्ने गोली ९ थानसहित १० जना पक्राउ परेका छन् । तीन जना अझै पनि फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *