राजनीति

प्रदेश-१ गठबन्धन– उम्मेदवार छान्न सकस (भिडियो रिपोर्टसहित)

२०७८ चैत २७ गते २०:३८
प्रदेश-१ गठबन्धन– उम्मेदवार छान्न सकस (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ विराटनगर । स्थानीय तह निर्वाचनका लागि प्रदेश १ मा नेकपा एमालेले धमाधम उम्मेदवार घोषणा गरिरहँदा सत्तागठबन्धनमा भने तनाव छ ।

एमालेले प्रदेशको एक मात्र महानगरपालिका विराटनगरको मेयर र उपमेयरको नाम सिफारिस गरिसकेको छ भने अन्य जिल्लामा पनि उम्मेदवार चयन प्रक्रिया तीब्र पारेको छ । तर सत्ता गठबन्धनमा भने भागबण्डा नमिल्दा उम्मेदवार चयनमा सकस देखिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको छ । एमालेले रामलाल साह, बावुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको छ ।

यस्तै उपप्रमुखमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अन्जु उपाध्ययको नाम सिफारिस गरिसकेको छ । सत्ता गठबन्धनका दलहरु भने भागबण्डामै अल्झिँदा उम्मेदवार चयनमा पछि परेका छन् । सत्ता गठबन्धनभित्रको नेपाली कांग्रेसले त विराटनगर महानगर र सुनवर्षी नगरपालिकामा एक्लै चुनाव लडने निर्णय गरिसकेपछि चुनावी तालमेल धरापमा परेको छ ।

गठबन्धनको विपक्षमा रहेका नेता डा। शेखर कोइराला पक्षको पकड रहेको मोरङ काँग्रेसले जिल्ला तहबाट गठबन्धन गर्न नसक्ने बताएपछि चुनाबी तालमेल अन्योलमा छ । मोरङमा काँग्रेस एकलौटी अगाडि बढ्न खोजेको आशंकासहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल चलाएका थिए । तीन दलले कांग्रेससँग गठबन्धनका लागि तयार भए नभएको जवाफ दिनुपर्ने माग गरेका छन् ।

केन्द्रमा सत्ता गठबन्धनले चुनावी तालमेलको पक्षमा अपिल जारी गरिसकेका बेला मोरङमा भने गठबन्धन भाडिँने तहमा पुगेपछि गठबन्धनका दलहरु जिल्ला तहमा नै कांग्रेसलाई मनाएर लाने तयारीमा पनि देखिएका छन् । तर त्यो खासै सम्भव भने देखिएको छैन ।

मोरङमा ८ नगरपालिका, ८ गाउँपालिका र एउटा महानगरसहित जम्मा १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिकासहित कांग्रेसले २०७४ को निर्वाचनमा एक्लै मोरङका नौ वटा स्थानीय तह जितेको थियो । सत्ता गठबन्धनमा खटपट हुँदा एमाले राप्रपासँग तालमेलको तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्