राजनीति

अप्राकृतिक गठबन्धनले सिद्धान्तको खिल्ली उडाउँदै दलहरु (भिडियो रिपोर्टसहित)

२०७८ चैत २६ गते २०:४०
अप्राकृतिक गठबन्धनले सिद्धान्तको खिल्ली उडाउँदै दलहरु (भिडियो रिपोर्टसहित)

२६ चैत २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै सत्तागठबन्धन र विपक्षी दलहरु पनि गठबन्धन बनाउने कसरतमा छन् । तर, त्यसरी गठबन्धन हुँदा दलहरुले आफुले अँगाल्दै आएको सिद्धान्तलाई वास्ता गरेका छैनन् । तत्कालको लाभमै उनीहरुको जोड छ ।

कुनै पनि राजनीतिक दल निश्चित सिद्धान्तको जगमा बनेको हुन्छ । आफुले बोकेको सिद्धान्तसँग नजिक रहेका दलहरुबीच हुने तालमेल र गठबन्धनलाई राजनीतिमा स्वभाविकै मानिन्छ । तर, नेपालमा भने दलहरुले आफ्नो सिद्धान्तलाई खासै केन्द्रमा राखेको देखिँदैन ।

अहिले सत्तागठबन्धनमा रहेको दल नेपाली कांग्रेससँग नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको सिद्धान्तमा आकाशजमिनको अन्तर छ । कांग्रेस खुल्ला अर्थतन्त्रको हिमायती मानिदा उसँग गठबन्धन गर्ने कम्युनिष्ट पार्टीहरू सिद्धान्ततः समाजवाद हुँदै साम्यवादको लक्ष्य अनुसरण गरेको दाबी गर्छन् ।

त्यतिमात्र होइन कम्युनिष्ट विचारधारा मान्ने दलहरुले त लामो समय आफ्नो दस्तावेजमा कांग्रेसलाई प्रधान दुस्मन करार गर्दै आएका थिए । संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकरको मासु बेच्ने थलो भन्दै आएको माओवादीले शान्तिप्रक्रियामा आएसँगै संसदीय प्रणालीलाई स्वीकारेको छ । कुनै कम्युनिष्ट पार्टी कांग्रेससँग गठबन्धनमा गए अर्को कम्युनिष्ट पार्टीले अप्राकृतिक गठबन्धन पनि भन्ने गर्छन् । तर, अहिले सिद्धान्ततः विल्कुल फरक रहेका कांग्रेस र कम्युनिष्ट घटकहरु सत्ता गठबन्धनमै छन् ।

विपक्षी दलहरु पनि अहिले गठबन्धनकै प्रयासमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले आफैले प्रतिगामी र दक्षिणपन्थी भनेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेलको छलफलमा छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा छ भने कमल थापा नेतृत्वको राप्रपा नेपाल हिन्दू राष्ट्रको पक्षमा छ । तर, एमाले ती दलसँग गठबन्धनका लागि निरन्तर छलफलमा छ । राप्रपा नेपालका थापाले एमालेकै चुनाव चिन्हमा चुनाव लड्ने बताएपछि विपक्षी गठबन्धन बन्ने सम्भावना बलियो बनेको छ ।

राजनीतिक विश्लेषकहरु दलहरुले दीर्घकालिन सिद्धान्तलाई नछोड्दा कागजी सिद्धान्तमा फरक देखिए पनि व्यवहारिक रुपमा भने उस्तै रहेको बताउँछन् । अहिले सबै दल आ–आफ्नो राजनीतिक हैसियत निर्माणमै केन्द्रित छन् ।

आफूलाई प्रतिकूल हुँदा सिद्धान्तका क्लिष्ट कुरा गर्ने राजनीतिक दलहरु फाइदा हुने अवस्था बन्दा सबै कुरा बिर्सन तयार भइरहेका छन् । सिद्धान्तको जुन जामा लगाएपनि लाभको पद प्राप्ति र सत्ता यात्राका लागि जोकोहीसँग सम्झौता गर्न तयार हुने प्रवृत्तिले ती दलले लिएको दीर्घकालिन नीति र अँगालेको सिद्धान्तको खिल्ली उडेको छ भने ती दलमाथि नैतिकताको प्रश्न पनि उठ्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्