राजनीति

के अब चुनावको मिति सार्न सम्भव छ त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २५ गते २०:५८
के अब चुनावको मिति सार्न सम्भव छ त ? (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने काम शुरु भइसकेको छ भने आचारसंहिता लागू भइसकेको छ । तर, अझै पनि स्थानीय तहको निर्वाचन सर्ने होकी भन्ने आशंका पनि व्यक्त भइरहेका छन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दल दर्ता गर्ने चाहना देखाएपछि त्यसैलाई बहाना बनाएर चुनाव सारिने होकी भन्ने आशंका देखिएको हो । तर, के अब चुनावको मिति सार्न सम्भव छ त ?

निर्वाचन आयोगले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी तीव्र पारेको छ । स्थानीय निर्वाचनका लागि आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको छ भने शुक्रबार मध्यरातबाट आचारसंहिता लागू हुँदैछ ।

स्थानीय निर्वाचनका लागि ७९ दलले आयोगमा नाम दर्ता गराएका छन् । तर, बिहीबार स्थानीय निर्वाचनका लागि दल दर्ता नै नगरेको विप्लव नेतृत्वको नेकपा दल दर्ताको विषय बुझ्न आयोग नै पुग्यो ।

उसो त बुधबार बसेको सत्तागठबन्धनको बैठकमा नेकपाले चुनावमा आउन चाहेको र त्यसका लागि मतदाता नामावली संकलन र दल दर्तामा सहयोग गरिदिन आग्रह गरेकोबारे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभयो ।

त्यसको भोलिपल्टै प्रकाण्डले प्रमुख निर्वाचन आयुक्तलाई भेटेरै दल दर्ता र मतदाता नामावली संकलनका लागि समय थप गरिदिन आग्रह गरेपनि दल दर्ता र मतदाता नामावली पुनः संकलन गरेर ३० वैशाख २०७९ को चुनाव गर्न नसकिने जवाफ आयोगका पदाधिकारीहरुले प्रकाण्डलाई दिएका छन् ।

कानूनका जानकारहरु संविधानतः वैशाख ३० को निर्वाचनको मिति अगाडि सार्न सकिएपनि त्यसभन्दा पर धकेल्न सक्ने अवस्था नरहेको बताउँछन् ।

अहिले मतपत्र छपाइ भइरहेको छ । वैशाख ११ र १२ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तो अवस्थामा प्रकाण्डले राखेको माग सम्बोधन गर्नु भनेको तत्काललाई निर्वाचन स्थगित गर्नु रहेको आयोगका आयुक्तहरु नै बताउँछन् ।

आयोग निर्धारित मितिमै चुनाव गर्नेमा प्रतिवद्ध देखिन्छ । निर्वाचनको कार्यतालिका अघि बढिसकेका बेला निर्वाचनको मिति धकेल्न सहज भने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्