राजनीति

संसदीय चुनावमा तीन सिट जितेर देखाउन माधव नेपाललाई ओलीको चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २५ गते १६:४३
संसदीय चुनावमा तीन सिट जितेर देखाउन माधव नेपाललाई ओलीको चुनौती (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनु भएको छ ।

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नु भयो । आज काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले २३ सिट पाउने हुत्ति नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिनुभयो । जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन । माधव नेपाल २२÷२३ सिट ल्याउने हुति भएको मानिस हो ? उनको नेतृत्वमा । अब ३ सिट ल्याएर देखाउन त ? त्यो हुति भएका मान्छे हुन् । तर पार्टी भित्रको कुरा दिइयो साथीहरुलाई । यो हिजोको चुनावको परिणाम हो । अब आजको चुनावको परिणाम होइन । म साथीहरुलाई भन्न चाहन्छु–अब बैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन् । अघि खगराजजीले पनि भनिसक्नु भयो । त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले ।’

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताउनुभयो । उहाँले मेडिकल कलेज र ईन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको बताउनु भयो ।

वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उहाँले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको पनि बताउनुभयो । विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हब बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रलाई प्रदुषित गर्ने तत्वहरु सक्रिय छन् । एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने, यहाँ त स्वास्थ्यको, स्वास्थ्य शिक्षाको त हब हुनुपर्छ नेपाल । विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो । विश्वको हेल्थ युनिभर्सिटी हुनु पर्दछ नेपाल । विश्व हेल्थका निम्ति मोडल हस्पिटलहरु हुनुपर्दछ यहाँ ।

त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्यावसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्