निजी एयरलाइन्सले उडान नगर्दा यात्रु यस्तो मारमा (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ मुगु । मुगु, हुम्ला, जुम्ला र डोल्पामा निजी एयरलाइन्सले उडान नगर्दा यात्रु समस्यामा परेका छन् । समिट, सीता र तारा एयरलाइन्सका विमानले एक सातादेखि उडान भरेका छैनन् ।
कर्णालीका ग्रामीण क्षेत्रमा तालिका सार्वजनिक नगरी उडान रोक्दा यात्रु मर्कामा परेका हुन्। रारा, सबैभन्दा ठूलो ताल । यही ताल हेर्नका लागि देश तथा विदेशका विभिन्न स्थानबाट पर्यटक आउने गर्छन् ।
पर्यटकहरु पैदल र हवाईमार्ग प्रयोग गरी रारासम्म आइपुग्ने गर्छन् । तर यहाँ उडान गर्ने निजी एयरलाइन्सले तालिका नै सार्वजनिक नगरी उडान रोक्दा यात्रुहरु समस्यामा परेका छन् ।
निजी एयरलाइन्सले तालिका अनुसारको उडान नगरेपछि चार्टर्ड उडानमा यात्रा गर्न यात्रु बाध्य छन् । चार्टर्ड उडानमा नियमित भन्दा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ । नियमित उडान नहुँदा कतिपय यात्रु फर्कनसमेत पाएका छैनन् ।
फ्लाइट आज हुन्छ भोलि हुन्छ भन्दै आफूहरुलाई कुराएको यात्रुहरुको गुनासो छ । बल्लबल्ल आएका जहाजमा पनि आफू निकट व्यक्तिलाई प्राथमिकता दिएको उनीहरुको आरोप छ । उडानलाई व्यवस्थित गर्न स्थानीय तथा प्रदेश सरकारले भूमिका खेल्नुपर्ने स्थानीय बताउँछन् ।
चार्टर्ड उडान गर्दा डेढ गुनासम्म रकम लिन पाउने प्रावधान नै छ । तर, ६ हजार पर्ने टिकटको ९ देखि १५ हजारसम्म उठाउने गरेको यात्रु बताउँछन् । नेपाल एयरलाइन्सले आफ्नो नियमित उडान गराए पनि अन्य उडान चार्टर्ड गराउने गरेको विमानस्थल प्रशासनले जनाएको छ ।
उडान नियमित नहुँदा राराको सुन्दरता हेर्न आउने पर्यटकका लागि कठिनाइ त छँदैछ । साथै विभिन्न जिल्लामा रहेका कर्मचारी तथा व्यापारीलाई गृहजिल्ला फर्कनसमेत समस्या भएको छ ।
प्रतिक्रिया