सडकमै यस्तो पोखरी, जिम्मेवार को ? (भिडियो रिपोर्टसहित)
२५ चैत २०७८ कपिलवस्तु । पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको मध्य भागमा रहेको बुटवलको पुष्पलाल चोक अहिले खानेपानी र ढलको पोखरी बनेको छ । खाल्डाखुल्डीले भरिएको सडकमा खानेपानी पाइप र ढल फुटेपछि सडक नै पोखरी बनेको हो ।
तपाईंलाई लाग्न सक्छ यो दृश्य वर्षायामको हो ? तर तपाईं नझुकिनुस यो त चैत महिना, सुख्खायामकै हो । सडकमै पोखरी किन बनाइयो होला भनेर तपाईंको मनमा फेरि प्रश्न उठ्न सक्छ । यो पोखरीमा पानी जम्मा गर्न वा माछा पाल्नका लागि बनाइएको होइन ।
यो त सडकमा परेको खाल्डो हो । यो दृश्य लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलको पुष्पलाल चोकको हो । यहाँ खानेपानी र ढल फुटेपछि यी खाल्डा भरिएर पोखरी जस्तै बनेको छ । पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको मध्य भागमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल नजिकैको सडक अहिले ढलको पोखरी बन्दा वरपर दुर्घन्ध नै फैलिएको छ ।
पुष्पलाल चोकबाट उत्तरतर्फ ट्राफिक चोक, गोलपार्कतिर लाग्दा वा दक्षिणतर्फ बसपार्क, मिनचोक, राजमार्ग चौराहा तिरको यात्रा गर्दा जो कोही धुलाम्मे हुन्छ । बुटवलको रागमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब ३ किलोमिटर सडक खाल्टा खुल्टी, कतै हिलाम्ये त कतै धुलाम्मे छ । यसले गर्दा बुटवलमा वायु प्रदुषण बढेको छ । हिलाम्मे र धुलाम्मे सडकले यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको छ भने सडक वरपरको ब्यापार ब्यवसायमा समेत प्रभाव परेको छ ।
सडक नै पोखरी बन्दा सरकारी निकाय भने एकले अर्कालाई दोष लगाएर उम्किने गरेका छन् । बुटवल उपमहानगरपालिकाले यो सडक आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै उम्किने गरेको छ भने सडक विस्तारको जिम्मेवारी पाएको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले भने ठेकेदारको ढिलासुस्तीले गर्दा समस्या भएको भन्दै टार्ने गरेको छ ।
भारतीय सीमा क्षेत्र बेलहियाबाट बुटवलसम्म आउने २ लेनको सडकलाई २०६८(२०६९ देखि ६ लेनको बनाउन थालिएको हो । तर, १० वर्ष पहिले शुरु भएको साढे २७ किलोमिटर ६ लेनको सडक कहिले सकिने हो टुंगो छैन ।समयमा निर्माण नसकिँदा एकातिर लागत बढ्दै गएको छ भने अर्कातर्फ स्थानीय तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
प्रतिक्रिया