Main News

आज मध्यरातबाट निर्वाचन आचारसंहिता लागू हुँदै

हिमालय टिभी
२०७८ चैत २५ गते १३:४०
आज मध्यरातबाट निर्वाचन आचारसंहिता लागू हुँदै

२५ चैत २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनको आचारसंहिता आज मध्यरातिदेखि लागू हुँदैछ ।

आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मध्यरातिदेखि मतदानको दिनसम्मलाई आचारसंहिता लागू गर्न लागेको हो । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको छ । तर एमालेले आपत्ती जनाउँदै आचारसंहितामा हस्ताक्षर गरेको छैन ।

एमालेले आचासंहिता लागू गर्नुपूर्व ६ विषयलाई संशोधन गर्न आयोगलाई ध्यानाकर्षण गराएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँने छैन ।

सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेलालगायतका काम गर्न ७२ घण्टा पहिले स्थानीय प्रशासनको अनुमति लिनपर्ने व्यवस्था आचारसंहितामा राखिएको छ ।

यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षणलगायतका काम पनि गर्न पाइँने छैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापनलगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।

दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत बोक्न पाइने छैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ ।

निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ । प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइनेछ भने साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगालगायतका सवारी साधन प्रयोग गर्न पाइने छैन ।

यसैबीच निर्वाचन आयोगले आज सबै निर्वाचन आयुक्तहरूको उपस्थितिमा आचारसंहिताबारे थप प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *