राजनीति

प्रक्रियामा विमति राख्दै दलहरुले जनाए आचारसंहिता पालना गर्ने प्रतिवद्धता (भिडियों रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २२ गते १५:१६
प्रक्रियामा विमति राख्दै दलहरुले जनाए आचारसंहिता पालना गर्ने प्रतिवद्धता (भिडियों रिपोर्टसहित)

२२ चैत २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनको आचारसंहिता पालनाका लागि निर्वाचन आयोगले बोलाएको छलफलमा दलहरुले प्रक्रियामा विमति राखे पनि पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । तर, केही दलले छलफल नै नगरी आचारसंहिता जारी गरेकोमा आपत्ति जनाएका थिए ।

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलले छलफल बिनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरु असन्तुष्टिकै बिच हस्ताक्षर गर्न तयार भएका थिए ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताउनुभयो ।

नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरुलाई हेपाहा प्रवृत्ति देखाएको बताउनुभयो । आयोगले गर्ने छलफलहरुमा साना दलहरुलाई सहभागी नगराउने गरेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्