राजनीति

देउवाको भ्रमणमा परराष्ट्रमन्त्रीको बच्पना जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २१ गते २०:२८
देउवाको भ्रमणमा परराष्ट्रमन्त्रीको बच्पना जवाफ (भिडियो रिपोर्टसहित)

२१ चैत २०७८ काठमाडौं । नेपालको कूटनीति कमजोर बनेको टिप्पणी हुँदै गर्दा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको कच्चापन सार्वजनिक भएको छ ।

हालै भारत भ्रमण गरेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको कार्यालय पुग्नु कुटनीतिक मर्यादाकै उपहास भएको आलोचना भइरहँदा परराष्ट्रमन्त्री खड्काले उहाँ त कांग्रेस सभापतिको हैसियतमा त्यहाँ पुगेको अभिव्यक्ति दिनुभयो । यहाँ प्रधानमन्त्री देउवाको कद घटाएको मात्र छैन, परराष्ट्रमन्त्रीको प्रष्टिकरणमा बच्पना देखिएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा)को पार्टी हेडक्वार्टरमा पुगेपछि एमाले नेता भीम रावलले ट्विटरमार्फत् प्रश्न गर्नुभएको थियो, ‘देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि नेपाली कांग्रेसको सभापतिको हैसियतमा ?’ अफिसियल भनिएको भ्रमणमा प्रधानमन्त्री देउवा नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिकाभन्दा छुट्टै व्यक्तिगत लहडमा भाजपा कार्यालय पुग्नुभयो ।

प्रधानमन्त्रीको हैसियतमा विदेश भ्रमणमा जाँदा कुनै अमूक पार्टीको कार्यालय धाउने कुरा कुनै पनि सार्वभौम मुलुकका लागि शोभनीय होइन । त्यसैकारण नेपालमा प्रतिपक्षी दलले मात्र होइन कुटनीतिक मामिलामा रुचि राख्ने कसैले पनि यो कुरालाई पचाउन सकेनन् ।

यो कुनै व्यक्तिगत, पार्टीगत वा पारिवारिक भ्रमण होइन र प्रधानमन्त्रीले आफ्नो रुचिका आधारमा नभई देशको मुद्दाका आधारमा आफ्नो भ्रमण र छलफल केन्द्रित गर्नुपर्थ्यो । तर भाजपाको पार्टी कार्यालय पुग्नेदेखि भाजपाले आयोजना गरेको तिर्थाटनसम्मको कार्यक्रममा सरिक भएर स्वदेश फर्किएपछि देउवाकै क्याबिनेटका मन्त्रीले यो भ्रमणलाई आंशिक रुपमा कांग्रेस सभापतिकै भ्रमणका रुपमा स्पष्टिकरण दिने प्रयास गर्नुभयो ।

प्रधानमन्त्री फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस ब्रिफिङमा परराष्ट्रमन्त्री नारायण खड्काले भाजपाको पार्टी कार्यालय चाहीँ कांग्रेस सभापतिको हैसियतमा पुगेको कच्चा जवाफ दिनुभयो ।

मन्त्री खड्काको दाबीअनुसार कांग्रेसले भारतसँग मात्र होइन भारतका सबै पार्टीसँग मैत्रीपूर्ण सम्बन्ध राखेको छ, त्यसैले भाजपाको पार्टी कार्यालय जाँदा केही फरक पर्दैन । सामान्य कूटनीतिक मर्यादा बिर्सिँदै मन्त्रीहरुको लस्कर लिएर भाजपाका ढोकामा पुगेको प्रधानमन्त्रीको टोलीले जुन गल्ती गरेको थियो, त्यसको ढाकछोप गर्न परराष्ट्रमन्त्री खड्काले दिएको जवाफ कच्चापनको पराकाष्ठा बनेको छ ।

प्रधानमन्त्री मात्र होइन कुनै पनि स्तरमा हुने अफिसियल भ्रमणको कुटनीतिक मर्यादा हुन्छ । पत्नी आरजु राणा वा अरु कुनै व्यक्ति र संस्थाको लहडमा मनोमानी हिडँडुल गर्ने छुट प्रधानमन्त्रीलाई हुँदैन ।

केही वर्षयता भारतसँगको संवादहीनता यो भ्रमणले तोडेको छ तर प्रधानमन्त्रीकै स्तरमा भएको यो हदसम्मको क्रियाकलापले संवादहिनताको अन्त्यभन्दा बढी लम्पसारवादी चरित्र उदांगो पारेको छ ।

एक त भ्रमण नै कुबेलामा गरिएको टिप्पणी भइरहेका बेला विदेशीका पार्टी कार्यालयहरु धाउने र उनीहरुकै रुचिमा पूजापाठका लागि तिर्थाटन गइदिने प्रवृत्तिले देशको शीर उँचो बन्ला र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्