Main News

अघोषित लोडसेडिङले उत्पादनमा कटौति (भिडियो रिपोर्टसहित)

२०७८ चैत २० गते २०:३०
अघोषित लोडसेडिङले उत्पादनमा कटौति (भिडियो रिपोर्टसहित)

२० चैत २०७८ काठमाडौं । पछिल्लो समय उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ हुन थालेको छ । उद्योगीहरुले दैनिक ८ घण्टासम्म लोडसेडिङ मार खेप्नु परेको बताउँछन् । तर नेपाल विद्युत प्राधिकरण भने कुनै पनि क्षेत्रमा लोडसेडिङ नभएको र गर्नुपर्ने अवस्था पनि नरहेको दाबी गर्छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा एक सातादेखि ६ देखि ८ घण्टा विद्युत कटौती हुने गरेको उद्योगीहरुको गुनासो छ ।

त्यस क्षेत्रका उद्योगीहरुले लोडसेडिङले ६० प्रतिशत उत्पादन कटौती भएको भन्दै नियमित विद्युत दिन नसक्ने भए लोडसेडिङको तालिक दिन विद्युत प्राधिकरणसँग माग नै गरेका छन् । कोरोनापछि विस्तारै चलायमान भएको उद्योग धन्दा अप्रत्याशित विद्युत कटौतीले ठप्प हुने अवस्था आएको गुनासो छ ।

सरकार र प्राधिकरण बाहिर एउटा प्रचार गर्ने, भित्र उद्योगमा विद्युत कटौती गर्ने गरेको आरोप उद्योगीहरुको छ। तर प्राधिकरण यो आरोप स्वीकार गर्न तयार छैन । एकसाता अघि भारतीय बजारमा विद्युत खरिदका लागि आवेदन दिँदा पनि माग अनुसार नपाइएकाले १(२ दिन समस्या भए पनि अहिले भने कुनै समस्या नरहेको दाबी प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार अहिले पिक आवरमा १६ सय ५० मेगावाट विद्युतको माग छ । रातिको समयमा १२ सय ५० मेगावाट माग रहेको छ । अहिले हिउँ पग्लिन थालेकाले देशभित्रै पनि उत्पादन बढेको र भारतबाट खरिदमा पनि कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ।

वर्षा सुरु हुनुभन्दा पहिले र जाडोपछि विद्युत खपत बढ्ने गरेको छ । तर यही समयमा नदीमा पानीको बहाव कम हुँदा उत्पादन घट्ने गर्छ । जसले गर्दा भारतबाट खरिद गर्नुपर्ने अवस्था आउछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *