Main News

प्रधानमन्त्री देउवा भाजपा कार्यालय पुगेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १९ गते २१:०९
प्रधानमन्त्री देउवा भाजपा कार्यालय पुगेपछि… (भिडियो रिपोर्टसहित)

१९ चैत २०७८ काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अनपेक्षित रुपमा भारतीय जनता पार्टी (भाजपा)को पार्टी कार्यालय पुगेपछि नेपालमा अनेक प्रश्न उब्जिएका छन् । सरकारले तय गरेको अफिसियल भ्रमणमा प्रधानमन्त्रीले नै अमूक पार्टीको कार्यालय भ्रमण गरेर के सन्देश दिन खोज्नु भएको हो भन्ने प्रश्न उब्जिएको छ ।

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई राजकीय भनेको थियो, तर जसै उहाँ भारत प्रस्थान गर्नुभयो यो भ्रमण राजकीय नभई केवल अफिसियल भ्रमण बन्यो । भारतमा पुगेपछि प्रधानमन्त्रीलाई स्वागतमा विदेशमन्त्री एस जयशंकरले स्वागत गर्ने भनिएको थियो । तर नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरे ।

भारत पुगेपछि प्रधानमन्त्री देउवासँग एक होटेलमा विदेशमन्त्री जयशंकरले भेट गर्ने र त्यसपछि नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने तालिका यसअघि सार्वजनिक गरिएको थियो । तर नयाँ दिल्ली उत्रिएलगत्तै प्रधानमन्त्री देउवाको टोली अनपेक्षित रुपमा भारतीय जनता पार्टीको मुख्यालय पुग्यो । प्रधानमन्त्रीको हैसियतमा भएको भ्रमणमा देउवाले आफ्नो ओहोदा विर्सेर पार्टी कार्यालय भ्रमण गर्न पुग्नुभयो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गरेका बेला अचानक कुनै मुर्त एजेण्डाबिना प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्किएको विषयमा समेत कयौँ प्रश्नहरु उठेका छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि होस् वा २०७७ मा नयाँ नक्सा बनाएर संविधानमा समेटेपछि होस् नेपालप्रति भारतको असहिष्णु व्यवहार थप बढ्दै गएको छ ।

यो बीचमा कयौँपटक गरेको वार्ताको आग्रह र सीमासम्बन्धी समस्यामा पटकपटक पठाएको कुटनीतिक नोटमा भारतले पूर्णरुपमा बेवास्ता गर्दै आएको छ । शक्तिशाली भएको दम्भ र नेपाली नेताहरुले प्रदर्शन गर्ने चरम लम्पसारवादी चरित्रका कारण भारतले नेपालका कुरा सुन्न छोडिरहेको अवस्था छ ।

आफ्ना सर्तहरु स्पष्ट पारेर मात्र भ्रमणको मिति तय गर्नुपर्नेमा निम्तो पाउनासाथ दिल्ली कुदिहाल्ने प्रवृत्तिमाथि नै नेपालमा प्रश्न उठिरहेको छ । यस्तो अवस्थामा भारत पुगेका देउवाले आफ्ना कुरा आफू बसेकै होटेलमा भारतीय पक्षलाई बोलाएर स्पष्ट राख्नुपर्नेमा पार्टी कार्यलय धाउनु अशोभनीय देखिएको छ ।

भाजपा भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ आरएसएसमा आबद्ध दल हो । यसअघि मुलभूत रुपमा भारतीय कांग्रेससँग निकट रहेको बताइने गरेको नेपाली कांग्रेस अहिले भाजपाको शरणमा छ भन्ने सन्देश देउवाले दिन खोजे पनि यो केवल कांग्रेस पार्टी सभापतिको भ्रमण होइन । अर्कोतर्फ उहाँले नै नेतृत्व गरेको नेपाली कांग्रेसले पनि नेपालमा देखिने गरी हिन्दुत्वको मुद्दा बोकिरहेको अवस्था छैन ।

त्यसो त पछिल्ला वर्षहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिमा धर्मको साहरा लिन खोजिरहेको देखिन्छ । प्रधानमन्त्री भएकै समयमा ओलीले बालुवाटारमै सीता–रामको मूर्ति निर्माण गरेर चितवनको माडीस्थित अयोध्यापुरीमा रथयात्रासहित पुर्‍याउनु भयो । त्यसपछिका दिनमा पनि सीता रामसहित विभिन्न तिर्थस्थलका विषयमा उहाँले प्रवचनसमेत दिँदै आउनु भएको छ ।

अहिलेका प्रधानमन्त्री देउवा भारतको सत्तारुढ तर अति हिन्दुवादी दलको कार्यालय भ्रमणदेखि वारणासीको तिर्थाटन गर्दै हुनुहुन्छ । भारतीय संस्थापनलाई रिझाउने नाममा सरकार प्रमुखबाट भएको यो हदसम्मको समर्पणले भारतसामु नेपालको कदलाई थप होचो बनाउने काम भएको छ । प्रधानमन्त्रीको भ्रमण दुई देशबीचका सीमा समस्या, व्यापार समस्या र अन्य अन्तर्राष्ट्रिय मुद्दामा केन्द्रित हुनुको सट्टा देशलाई छोटे भाइ र पार्टीलाई भ्रातृ संस्था बनाउन खोज्नु सर्वथा लाजमर्दो काम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *