Main News

नेपालमा पुनः रेल सेवा सुरू (भिडियो रिपोर्टसहित)

२०७८ चैत १९ गते २०:५८
नेपालमा पुनः रेल सेवा सुरू (भिडियो रिपोर्टसहित)

१९ चैत २०७८ काठमाडौं । शनिबार नेपालको एकमात्र रेल्वे सेवा दुलही झै सजिएर जनकपुरधाम आइपुगेको छ ।

भारतको हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा हरियो झन्डा हल्लाएर उद्घाटन गरेपछि नेपालमा पुनः रेल सेवा सुरू भएको हो । नेपाली समयानुसार दिउँसो १२ बजेर ५५ मिनेटमा उद्घाटन गरेको १ घण्टा ४५ मिनेटपछि रेल जनकपुर आइपुगेको हो ।

जनकपुर आसपासका नागरिक । र, यिनीहरु स्वागतका लागि बसेका विद्यार्थीहरु । यी विद्यार्थी तथा नागरिकहरु नेपाल र भारतका प्रधानमन्त्रीद्वयले जयनगर जनकपुर रेलको उद्घाटन गरेसँगै रेल आउने प्रतिक्षामा बसेका हुन्।

हैदराबाद हाउसमा प्रधानमन्त्रीद्वयले हरियो झण्डा हल्लाएर रेल सेवाको उद्घाटन गरेको १ घण्टा ४५ मिनेटपछि जनकपुरमा रेल आइपुग्यो ।

लामो समयको प्रतिक्षापछि जनकपुर आइपुगेको रेल हेर्न भारतीय नागरिक समेत आइपुगेका थिए । रेल सेवा सुरु भएसँगै जनकपुरबासी उत्साहित बने ।

रेल सञ्चालनसंगै उद्योगी व्यवसायी समेत खुसी भएका छन् । आयातमा सहजता मात्र नभै मूल्य समेत कम पर्ने भएपछि व्यवसायी खुसी बनेका हुन् ।

३४ दशमलव ५ किलो मिटरको जयनगर–कुर्था यात्राका लागि समान्य टिकट बापत ७० रूपैयाँ र वातानुकुलित सिटका लागि ४ सय ५० शुल्क तोकिएको छ ।

दैनिक दुई पटक जनकपुरधामदेखि कुर्थासम्म आवत जावत गर्ने रेल जनकपुरधामबाट विहान ९ः५५ र वेलुकी ४ः३० मा जयनगरका लागि प्रस्थान गर्ने तालिका रहेको छ । यात्रुका लागि परिचय खुल्ने कागज अनिवार्य गरिएको छ । रेल सञ्चालनले नेपाल भारतको सम्बन्ध प्रगाढ हुने, आर्थिक गतिविधी चलायमान हुने र आवागमन सहज हुने स्थानीय बताउँछन् ।

जनकपुरधाममा आयोजित समुद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रीहरु, प्रदेश तथा संघीय सांसदसहित कांग्रेस र जसपाका अधिकांश नेता सहभागी बने । उद्घाटन कार्यक्रममा लोसपा, माओवादी केन्द्र तथा एमालेका नेताहरु भने देखिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *