राजनीति

भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै माओवादी केन्द्रमा

२०७८ चैत १९ गते २०:४०
भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै माओवादी केन्द्रमा

१९ चैत २०७८ काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो । सयभन्दा बढी सङ्ख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरु धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्वको रहेको बताउनुभएको छ । उहाँले हिजो आफ्नो रगत, पसिना विदेशीका लागि बगाएका गोर्खाको समूह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताउनुभयो । उहाँले यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनःपुष्टि गरेको बताउनुभयो ।

प्रचण्डले स्थानीय निर्वाचनको मुखमा भएको यो प्रवेशले माओवादी केन्द्रमा मात्रै नभइ परिवर्तनकामी नेपाली जनतामा नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकलगायतका परिवर्तनका एजेण्डाको सूत्रधार माओवादी केन्द्र हुने तर गणतन्त्रको फल अरुले मात्रै खान खोज्ने परिपाटीले राजनीतिक स्थिरता कायम हुन नसकेको बताउनुभयो ।

उहाँले माओवादी केन्द्रले परिवर्तन र शान्ति तथा विकासमा नेतृत्व गरेको र माओवादी नेतृत्वमा रहेका स्थानीय तहहरुले अरुले भन्दा उत्कृष्ट काम गरेको दाबी पनि गर्नुभयो । कार्यक्रममा माओवादी प्रवेश गर्ने संस्थाको नेतृत्वकर्ता राईले माओवादीले नेतृत्व गर्दा मात्रै शान्ति, स्थिरता र विकास हुनसक्ने लागेकाले माओवादीको पक्षमा आफूहरु केन्द्रित भएको धारणा राख्नुभएको थियो ।

राईले माओवादीको विचार, सिद्धान्त र व्यवहारले आफूहरु प्रभावित भएको र आफूहरूको स्वार्थ राष्ट्रको विकास तथा समृद्धिको पक्षमा काम गर्नेबाहेक अरु नभएको बताउनुभएको थियो । त्यसैगरी राईले आफूहरूको पक्षमा माओवादी र प्रचण्डले लगातार समर्थन गरेका कारणले पनि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्