समाज

इच्छा भए शिक्षा आर्जन गर्न उमेरले रोक्दैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १८ गते १८:४२
इच्छा भए शिक्षा आर्जन गर्न उमेरले रोक्दैन (भिडियो रिपोर्टसहित)

१८ चैत २०७८ रोल्पा । जिन्दगीको हरेक समयमा हामी शिक्षा लिइ नै रहेका हुन्छौं । शिक्षाका लागि कुनै उमेर हुँदैन । चाहिन्छ त केवल इच्छाशक्ति । यस्तै इच्छाशक्तिले प्रेरित उतिमाकुमारी वली जिन्दगीको उत्तरार्धमा अक्षर चिन्ने प्रयासमा हुनुहुन्छ ।

प्रेरणादायी पात्र वली अध्यनन गर्ने श्री महेन्द्र माध्यामिक विद्यालयमा रोल्पास्थित हाम्रा सहकर्मी वीरेन्द्र घर्ति पुग्नु भएको छ ।

नाम लेखेँ पुसको १ गते ढाँट्या होइन यो कुरा हो सत्य ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाको श्री महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्नुहुने ५० वर्षकी उतिमाकुमारी वलीका लागि यो कुरा सत्य हो ।

५० वर्षको उमेरमा किताब र झोला बोक्दै विद्यालय जान थालेपछि उतिमाले यो गीत आफैंले लेख्नुभयो । उतिमा अहिले कक्षा तीनमा पढ्नुहुन्छ । सानासाना नानीबाबु र शिक्षकहरुसँग विद्यालय जानु उहाँको दैनिकी बनेको छ ।

पढ्ने चाहना हुँदाहुँदै उतिमाले पढ्न पाउनु भएन । सानै उमेरमा विवाह भयो । छोराछोरी भए, उनीहरुलाई हुर्काउदा बढाउँदै उतिमा ५० वर्षको पुग्नुभयो । अहिले भने उहाँको पढ्नेलेख्ने चाहना पूरा हुँदैछ ।

पढाइसँगसँगै उतिमाले साथी पनि पाउनुभएको छ । आफ्नो समकक्षीले उमेर सोधेर भने हैरानै पार्छन् । जुनकुराले उतिमालाइ झर्को लाग्दैन । बरु रमाइलो लाग्छ ।

उतिमाको पढ्ने र लेख्ने चाहनाले उतिमालाई विद्यालयसम्म ल्याएको छ । उतिमाको चाहनामा परिवारको पनि साथ छ ।

आफ्नो चाहना पुरा गर्न विद्यालय भर्ना हुनुभएकी उतिमा अरुको लागि भने प्रेरणाको स्रोत बन्नुभएको छ ।

उतिमाको चाहना पढ्ने र लेख्नु जान्नु मात्रै होइन, उतिमालाई एसईई दिने मन छ । चाहना पूरा गर्न हामी, उमेर र समय बाधक भयो भनेर निरास बन्छौं । ती निराश आँखाहरुका लागि उतिमा आशाको दियो बन्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *