समाज

बारपाकका दलित समुदाय यस्तो कष्टकर जीवनयापन गर्न बाध्य (भिडियो रिपोर्टसहित)

२०७८ चैत १५ गते १८:०७
बारपाकका दलित समुदाय यस्तो कष्टकर जीवनयापन गर्न बाध्य (भिडियो रिपोर्टसहित)

१५ चैत २०७८ गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको सात वर्ष बित्न लाग्यो । भूकम्पका कारण भत्किएका संरचना पुनर्निर्माणको काम सकिएको भन्दै पुनर्निर्माण प्राधिकरणसमेत खारेज भइसक्यो । तर, बारपाकका दलित समुदाय भने कष्टकर जीवन यापन गर्न बाध्य छन् ।

साविकको बारपाक गाविस वडा नम्बर ५ मा रहेको दलित बस्तीका बासिन्दा भूकम्पपछिको पहिरोले बगाएपछि विस्थापित भई साविकको बारपाक वडा नम्बर ३ मा अस्थायी टहरो बनाएर बस्न थाले । तर, अहिलेसम्म उनीहरुको स्थायी बसोबासमा कसैको ध्यान गएको छैन । सानो झुप्रोमा जीवनयापन गर्नुपर्दाको पीडा ओहदामा पुगेकालाई के थाहा ।

टहरो बनाएर बसेकाहरुसँग जग्गाको लालपूर्जा छैन । २०७६ जेठमा मन्त्रीस्तरीय निर्णयअनुसार जग्गाको अन्तिम प्रक्रियाका लागि स्थानीय तहको सिफारिस ल्याउन भन्यो । तर, स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक प्रतिशोध साँध्दा निमुखा नागरिक पीडादायी जीवन जिउन बाध्य छन् ।

सरकारी निकायले यो बस्तीको दुःखलाई नजरअन्दाज गरेपछि स्थानीय अगुवा सुकबहादुर विकको नेतृत्वमा बारपाकबासीले गोरखा–सिंहदरबार गरेर धेरैजोर जुत्ता फटाइसके । हेलिकोप्टर र हवाइजहाजको चर्को आवाज सुन्ने बानी परिसकेको सिंहदरबारले न त चप्पलको आवाज सुन्न सक्यो न त पसिनाको गन्ध नै चिन्न । समस्या जहाँको त्यहीँ रह्यो । अझै पनि लालपूर्जा पाइएला र घर बनाउँला भन्ने झिनो आशा उनीहरुमा कायमै छ ।

अहिले बारपाकमा अस्थायी रुपमा बसोबास गरिरहेकाहरु जग्गा प्राप्तीका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको बताउँछन् । तर, सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीका कारण लालपूर्जा नपाउँदा उनीहरुले पक्की घर बनाउन पाएका छैनन् । यस बस्तीको समस्या समाधानका लागि तत्काल सरकारले पहल कदमी लिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *