Main News

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच श्रीलंकाको कोलम्बोमा भेटवार्ता

हिमालय टिभी
२०७८ चैत १५ गते १६:१३
परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच श्रीलंकाको कोलम्बोमा भेटवार्ता

१५ चैत २०७८ काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच श्रीलंकाको कोलम्बोमा भेटवार्ता भएको छ ।

विमस्टेक सम्मेलनमा भाग लिन पुगेका मन्त्रीद्वयबीच साइड–लाइन वार्ता भएको हो । उहाँहरुबीच रामायण सर्किट अघि बढाउने, कनेक्टिभिटी, उर्जा, मलखाद तथा स्वास्थ्य सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा दुई देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउने गरी दुईदेशका मन्त्रीहरुबीच छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवा चैत १८ गते तीन दिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

यसैबीच नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको पाँचौं शिखर सम्मेलन अन्तर्गत आज मन्त्रीस्तरीय बैठक बसेको छ ।

बैठकमा सदस्य राष्ट्रहरुले बिमस्टेकलाई चलायमान बनाउन सामूहिक प्रतिबद्धता र संकल्प आवश्यक रहेकोमा जोड दिएका छन् ।

श्रीलंकाको कोलम्बोमा सुरुभएको सम्मेलनको १८औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अब केही ठोस काम गर्ने बेलाएको भन्दै यसलाई अघि बढाउन नयाँ संकल्प, सामुहिक प्रतिद्धता र योजना स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री खड्काले बिमस्टेकलाई अरु संस्थाको विकल्पका रुपमा हेर्न नहुने बताउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको गतिविधि ठप्प हुँदा बिमस्टेक शिखर सम्मेलनलाई विकल्पका रुपमा हेरिएको छ । भारतले सार्कभन्दा बिमस्टेकलाई महत्व दिंदै आएको छ ।

सन् २०१८ मा नेपालले चौथो शिखर सम्मेलन गरी श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेको थियो । हिजोबाट सुरु भएको बिमस्टेकको शिखरसम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि भर्चुअल सम्बोधन गर्दै हुनुहुन्छ ।

शिखर सम्मेलनले बिमस्टेकको बडापत्र तय गर्नेछ। स्थापनाको सात वर्षपछि मात्र नेपालले बिमस्टेकको सदस्यता लिएको हो। सन् १९९७ मा सुरु भएको बिमस्टेकको सचिवालय ६ वर्षअघि मात्र ढाकामा खुलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *