Main News

म्यादीमा मागभन्दा तीन गुणा बढी आवेदन, बेरोजगारीको चरम दृष्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १४ गते २०:३४
म्यादीमा मागभन्दा तीन गुणा बढी आवेदन, बेरोजगारीको चरम दृष्य (भिडियो रिपोर्टसहित)

१४ चैत २०७८ काठमाडौं । निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न क्रम चलिरहको छ । भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरुमा म्यादी प्रहरीमा आवेदन दिनेको ठूलो भिड छ । प्रायः जिल्लामा मागभन्दा दुईतीन गुणासम्मको आवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्राङ्गण । र म्यादी प्रहरीमा आवेदन दिन आएका नागरिकहरु । धनुषामा तीन हजार ४ सय ८६ म्यादी प्रहरी माग भएको थियो । तर, ९ हजार भन्दा बढीले आवेदन दिएका छन् । म्यादी प्रहरीमा भर्ना हुन भैरहेको यो तछाड मछाडले देशमा बेरोजगारी कति छ भन्ने प्रतिबिम्बित गरिरहेको छ ।

अनि, यो जिल्ला प्रहरी कार्यालय रुपन्देही बाहिरको दृष्य । लुम्बिनी प्रदेशका १२ जिल्लामा १६ हजार १ सय म्यादी प्रहरीको भर्ना खुलेको छ। जसमा रुपन्देहीमा मात्रै दुई हजार तीन सय ६० जना म्यादी प्रहरीमा भर्ना हुनेछन् । म्यादी प्रहरीमा भर्ना हुनेको संख्या अत्याधिक भएपछि भीड व्यवस्थापनमा प्रहरीलाई हम्मेहम्मे परेको छ ।

कैलालीमा माग भएभन्दा ४ गुणा बढीले आवेदन दिएका छन् । २ हजार ४ सय ५७ जनाका लागी भर्ना खुलाइएकोमा ११ हजारभन्दा बढीले आवेदन दिए ।

झापामा पनि ३ गुणा बढीले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । २ हजार ७ सय ६४ म्यादी प्रहरी माग गरिएकोमा ८ हजार ४३९ जनाले आवेदन दिए ।

संघ, प्रदेश र स्थानीय तह निर्माण भएपछि धेरै रोजगारी सृजना गर्ने एजेण्डा सबैको बन्यो तर यो पाँच बर्षको कार्यकालमा रोजगारी सिर्जना गर्न कसैले उपयूक्त कदम नचालेको दृष्टान्त विभिन्न जिल्लामा देखिएको यो भिडले देखाउँछ ।

सबैजसो जिल्ला निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीमा आवेदन दिनेको भिड उस्तै छ ।

म्यादी प्रहरीले ४० दिन काम गरेबापत् ३० हजार २४० रुपैयाँ पारिश्रमिक प्राप्त गर्छन् । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीलाई खाद्यान्नबापत ७ हजार २००, पोशाक र अन्य खर्च ६ हजार र यातायात खर्चबापत एक हजार रुपैयाँ दिने सरकारी तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *