Main News

कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलका पक्षमा (भिडियो रिपोर्टसहित)

२०७८ चैत १४ गते १७:२९
कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलका पक्षमा (भिडियो रिपोर्टसहित)

१४ चैत २०७८ काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन कायम गर्ने भएको छ ।

केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धन गरेरै निर्वाचनमा जानुपर्ने सुझाव दिएपछि भोलि सैद्धान्तिक निर्णयसहित प्रस्ताव पारित गर्ने कांग्रेसको तयारी छ ।

बैठकपछि प्रवक्ता डाक्टर प्रकाशशरण महतले केही पदाधिकारी र सदस्यहरुको गठबन्धन नगरी एक्लै जनतामा परीक्षण हुनुपर्ने बताएपनि अधिकांशले गठबन्धन कायम गर्नुपर्ने धारणा राखेको जानकारी दिनुभयो । उहाँले गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र धेरै ठाउँमा चुनाव जित्न सकिने बताउनुभयो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई लिएर नोकझोंक भएको थियो । नेता कोइरालाले गठबन्धन किन र केका लागि भन्दै सभापति देउवालाई प्रश्न गर्नुभयो ।

उहाँले अर्को दलका चुनाव चिन्हमा कांग्रेस कार्यकर्ताले कसरी मत हाल्छन् भन्दै प्रश्न उठाउनुभएको थियो । उहाँले सभापतिले नै एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कमजोर बन्नेतर्फ कोइरालाले सभापति देउवाको ध्यानाकर्षण गराउनुभयो ।

जवाफमा सभापति देउवाले आफूलाई कांग्रेसको सिद्धान्त नसिकाउन भन्दै अघिल्लो निर्वाचनमा गठबन्धन नगर्दा धेरै नेताहरु पराजित हुनुपरेको स्मरण गराउनुभयो । उहाँले एक्लै चुनावी मैदानमा जाँदा आफूले समेत झण्डै हारको अवस्था भोग्नुपरेको भन्दै कांग्रेसका लागि जीवन काटेकाले पार्टीको सिद्धान्त नसिकाउन भन्नुभयो ।

गठबन्धनकै विषयलाई लिएर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच पनि मतभेद देखिएको छ । दुबै महामन्त्रीको एउटै धारणा रहने बताइरहँदा केन्द्रीय समिति बैठकमा थापाले आफू गठबन्धनको विपक्षमा रहेको बताउँनुभएको थियो ।

अर्का महामन्त्री शर्माले भने आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने बताउनुभएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमालेलाई साइजमा राख्न माओवादी केन्द्र र एकीकृत समाजवादीलाई केही मत दिनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *