Main News

तीन वटा विषयमा चिनियाँ चासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १३ गते २१:१४
तीन वटा विषयमा चिनियाँ चासो (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ काठमाडौं । चीनले नेपाललाई तीन वटा विषयमा साथ र समर्थन रहेको उल्लेख गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणपछि विज्ञप्ती जारी गर्दै नेपालको विकास र समृद्धिमा चीनको समर्थन रहने भनिएको छ । नेपाललाई आफ्नो राष्ट्रिय परिस्थितिअनुकुल विकास मार्ग खोज्न सहयोग गर्न चीनको सधै साथ रहने विज्ञप्तीमा उल्लेख छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुभयो । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता भयो । यी भेटवार्ता र द्विपक्षीय सम्झौतापछि चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै प्रमुख तीन विषयमा साथ र सहयोग रहने उल्लेख गरेको छ ।

के–केमा हुनेछ, नेपाललाई चीनको समर्थन ?
–राजनीतिक स्थिरता कायम राख्न, आर्थिक वृद्धि प्रवद्र्धनका लागि अनुकूल शासन मोडेलको संयुक्तरुपमा खोजी गर्नका लागि समर्थन

चीनको मैत्रीपूर्ण नीति नेपालका सबै दल र जनताका लागि खुला छ । चीनले नेपालका सबै दल र गुटलाई नेपाली जनताको आधारभूत र दीर्घकालीन हितलाई ध्यानमा राखेर समावेशी, परामर्शदायी, एकताबद्ध र सहयोगी बन्न र राजनीतिक स्थिरता कायम राख्न, आर्थिक वृद्धि प्रवर्द्धनका लागि अनुकूल शासन मोडेलको संयुक्त रूपमा खोजी गर्न समर्थन गर्ने उल्लेख गरेको छ ।

–नेपाललाई स्वतन्त्र स्वदेशी तथा विदेश नीतिहरू अवलम्बन गर्न सहयोग गर्ने
साना वा ठूला सबै देश समान छन् र सबै देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्ने र नेपालको मामिलामा नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालको भूराजनीतिक खेलमा संलग्न हुने प्रयासको विरोध गर्ने विज्ञप्तीमा उल्लेख छ ।

–दुई पक्षीयबीचको मुख्य सहयोग परियोजनाहरुको प्रवर्द्धनलाई तीव्रता दिने

वेल्ट एन्ड रोड निर्माणमा नेपालको गहिरो सहभागितालाई समर्थन गर्दै विगतका केही वर्षमा दुई देशले नेपालको राष्ट्रिय निर्माणलाई बलियो समर्थन दिने विज्ञप्तीमा उल्लेख छ ।

चिनियाँ पक्षले दुई पक्षबीचको मुख्य सहयोग परियोजनाहरूको प्रवर्द्धनलाई तीव्रता दिंदै दुई देशबीचको भूमि बन्दरगाहको सहज प्रवाह सुनिश्चित गर्न, सीमापार ऊर्जा सहयोगको विकासको अन्वेषण गर्न, आर्थिक र साँस्कृतिक माध्यमहरूलाई समृद्ध र विस्तार गर्न इच्छुक रहेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै दुई देशबीचको आदान–प्रदान र हिमालयलाई दुई देशबीचको मैत्रीपूर्ण सहयोगको कडी बनाउनका लागि हिमालय पार अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्ने चिनियाँ पक्षले प्रतिवद्धता जनाएको छ ।

चीनले नेपालप्रतिको मैत्रीपूर्ण नीतिलाई अडिगरुपमा कार्यान्वयन गर्दै लैजाने र पारस्परिक हितलाई महत्व दिने पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *