Main News

वाङ यीको भ्रमण सफल भएको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

२०७८ चैत १३ गते २०:५३
वाङ यीको भ्रमण सफल भएको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ । नेपाल पक्षबाट खास तयारी बिना भएको विदेशमन्त्री वाङको भ्रमण सफल भएको सरकारी पक्षको दाबी रहँदा कूटनीतिक जानकारहरुले तयारी अभाव देखिएको टिप्पणी गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण अप्रत्यासित तथा अपर्झट त होइन तर, अप्रत्यासित जस्तै बन्यो । वाङको भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने धेरै विषयहरुमै अलमल भएको टिप्पणी हुन थालेको छ ।

चीनसँग नेपालले चिनियाँ राष्ट्रपति सी जिङ पिङको भ्रमणमा घोषणा भएको ५६ अर्ब रुपैयाँको आर्थिक अनुदान, सीमा समस्या, आयात निर्यातको समस्या, चिनियाँ लगानीमा निर्माणाधीन आयोजनाहरुमा भैरहेका ढिला सुस्ती, पारवाहन सन्धी सम्झौताहरु, बीआरआई, अन्तरदेशीय प्रशारण लाइन, केरुङ– काठमाडौं रेल्वे परियोजनाको संभाव्यता अध्ययन् लगायतका दर्जनौं परियोजनाहरु र सन्धी सम्झौताहरु लगायतका विषयमा दुई पक्षबीचमा खुला छलफल हुन आवश्यक थियो ।

उल्लेखित विषयमा छलफलका लागि चिनियाँँ विदेशमन्त्री वाङ नेतृत्वको उच्चस्तरीय टोलीको तीन दिने नेपाल भ्रमण फलदायी गराउनुपर्ने नेपालसँग चुनौति थियो । नेपालले यसमा तयारी नै गर्न नसकेको टिप्पणी हुन थालेको छ । तर सरकारले भने भ्रमण सफल भएको रेडिमेट जवाफ दिएको छ । यो भ्रमणका क्रममा चीनसँग नेपालले ९ वटा सम्झौता गरेको छ ।

आर्थिक तथा प्राविधिक सहयाता सम्बन्धी हस्ताक्षर, सीमापार रेल्वे परियोजनाका लागि चीनको आर्थिक सहयोगमा केरुङ – काठमाडौं रेल्वे परियोजनाको प्राविधिक संभाव्यता अध्ययन्, नेपाल – चीन पावर ग्रिड इन्टरकनेक्सनका लागि संभाव्यता अध्ययन् सम्बन्धी सम्झौता, नेपालबाट चीनमा हेलेज घाँस निर्यातको सम्झौता, नेपालबाट चीन निर्यात हुने वस्तुमध्ये ९८ प्रीतशतलाई भन्सार छुट दिने सम्बन्धी सम्झौता, अरनिको राजमार्गको तेस्रो चरण मर्मत सम्पन्न भएको सर्टिफिकेट हस्तान्तरण समझदारी पत्र, रेल्वे क्षेत्रमा सहभार्य बढाउने सम्बन्धी नेपालको भौतिक पूर्वाधार मन्त्रालय र चीनको नेसनल रेल्वे एडमिनिस्ट्रेसनबीच भएको सातौं बैठकको माइन्यूट, चीनले नेपाललाई दिएको ४० लाख डोज खोप प्राप्ती सम्बन्धी सर्टिफिकेटमा हस्ताक्षर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्प्तालमा चिनियाँ मेडिकल टिमलाई काम गर्न पठाउने सम्बन्धी प्रोटोकलमा हस्ताक्षर रहेका छन् ।

शक्तिशाली देशका बिदेशमन्त्रीको तीन दिने नेपाल भ्रमण आफैंमा महत्वपूर्ण भएको र नौ बुँदे सम्झौता हुनुले पनि यीको यो भ्रमण सफल भएको मान्नुपर्ने कूटनीतिज्ञ डाक्टर जयराज आचार्यको धारणा छ ।

विगतमा भएका उच्चस्तरीय भ्रमणका क्रम्मा धेरै सम्झौताहरु भएपनि कतिपय सम्झौताहरु कार्यान्व्यनमा आउन ढिलाई भएको छ । यसमा नेपाल पक्षको पनि कमजोरी देखिएको छ । सम्झौताहरुको तत्काल कार्यान्वयनका लागि दुवै देशबाट पहल र तदारुकता देखाउन आवश्यक रहेको आचार्यको भनाइ छ ।

बहुप्रतिक्षित बिआरआईका बिषयमा भने छलफल भएपनि कुनै सम्झौता हुन सकेन् । नेपालले बीआरआई अन्तर्गत बन्ने परियोजना ऋणमा भन्दा पनि अनुदानमा बन्नुपर्नेमा जोड दिइरहेको र आवश्यक तयारी समेत नपुगेकाले यसमा हस्ताक्षर हुन नसकेको बताइएको छ । बीआरआई अन्तर्गत बन्ने बिकास निर्माणमा अनुदान सहयोग गरिदिन आग्रह गर्नु नेपालका लागि स्वभाविक र फाइदाजनक हुने आचार्यको टिप्पणी छ ।

विदेशमन्त्री वाङको भ्रमणपूर्व एमसीसीलाई लिएर चीन रुष्ट रहेको यस्ले नेपाल चीन सम्बन्धमा असर पुग्न सक्ने आशंका नेपालमा थियो । अन्तर्राष्ट्रिय कुटनीतिमा परिपक्क चीनका बिदेशमन्त्रीको नेपाल भ्रमणले त्यो आशंकालाई पनि मेटिदिएको छ ।

नौ बुँदे सम्झौताले मात्रै नभएर दुई छिमेकीका बीचको सम्बन्धलाई थप मजबुत र परिपक्क बनाउन पनि यो भ्रमण फलदायी र सफल भएको ठानिएको छ । भ्रमण सफल भएको कि भएन् त्यसको नजिता आजै आउने भन्दा पनि केही समय पक्कै कुर्नुपर्ने हुन्छ । भएको सम्झौताहरु कसरी कार्यान्व्यन हुन्छन् र चीनले आगामी दिनमा दिने प्रतिक्रियाहरुले नै यीको भ्रमणको उदेश्य सार्थक भए नभएको स्पष्ट होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *