Main News

विदेशमन्त्री वाङसँगको भेटमा माओवादी र एमालेले गरे यस्तो आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १३ गते १४:२९
विदेशमन्त्री वाङसँगको भेटमा माओवादी र एमालेले गरे यस्तो आग्रह (भिडियो रिपोर्टसहित)

१३ चैत २०७८ काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा बिहान शिष्टाचार भेटवार्ता गर्नु भएको हो । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

वाङले आजै पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नक्शालस्थित होटल म्यारियटमा भेटवार्ता गर्नुभएको छ।

भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष ओलीले बीआरआइ सम्बन्धित आयोजना छिटो अघि बढाउन आग्रह गर्नुभएको थियो ।

भेटमा ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदूत डाक्टर अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी थिए।

ओलीसंगको भेट लगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि चिनियाँ विदेशमन्त्री वाङले होटल म्यारियटमा भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीच दुइदेशीय हितकाबारेमा कुराकानी भएको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डका साथ माओवादी नेता पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि भेटवार्तामा सहभागी हुनुहुन्थ्यो । नेपालको तीन दिने भ्रमणमा शुक्रबार काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली समकक्षी डा नारायण खड्कासंग भेटवार्ता गर्नुभएको थियो ।

दुई मुलुकका विदेमन्त्रीमन्त्री बीचको भेट लगत्तै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ आजै बेइजिङ फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *