राजनीति

चुनावी गठबन्धनका विषयमा मिलेन कांग्रेसमा कुरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १२ गते १८:२१
चुनावी गठबन्धनका विषयमा मिलेन कांग्रेसमा कुरा (भिडियो रिपोर्टसहित)

१२ चैत २०७८ काठमाडौं । शुक्रबार शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धनको विषयलाई लिएर मतभेद देखिएको छ । उता, गठबन्धन गर्न चाहेको सत्ताघटक नेकपा माओवादी केन्द्र भने कांग्रेससँग गठबन्धन हुनेमा ढुक्क देखिन्छ ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा सत्तागठबन्धनको विषयलाई लिएर नेताहरु विभाजित देखिन्छन् । गठबन्धनकै बलमा प्रधानमन्त्री बनेका सभापति देउवा भने स्थानीय निर्वाचनमा गठबन्धनकै पक्षमा हुनुहुन्छ ।

केही नेताहरु भने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने अडानमा छन् । गठबन्धन गर्दै जाने हो भने कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तो हुने चिन्ता गठबन्धन गर्न हुन्न भन्ने नेताहरुको छ । यही विरोधाभासले चुनावी गठबन्धनबारे पार्टीभित्र सहमति जुटाउन सकस परेको छ ।

कांग्रेसभित्र गठबन्धनलाई लिएर विवाद बढिरहँदा अर्को सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने केन्द्रबाटै सबै कुरा मिलाउने दाउमा हुनुहुन्छ । चितवनमा पुगेका प्रचण्ड स्थानीय मतदाता मिलाउने भन्दा केन्द्रको हाउगुजी देखाउन लागिपर्नुभएको छ ।

उसो त २०७४ सालको स्थानीय तह निर्वाचनमा दाहालले गृहनगरमा कांग्रेसका उमेदवार दिनेश कोइरालाको उमेदवारी फिर्ता गराइदिनु भएको थियो । अहिले पनि स्थानीय तहमा समस्या भए केन्द्रबाटै गठबन्धन गर्ने प्रचण्डको अभिव्यक्तिपछि चितवन कांग्रेस रुष्ट छ ।

चितवनमा मात्र होइन चुनावी गठबन्धनको विषयलाई लिएर धेरै स्थानमा समस्या हुने संकेत देखिएपछि प्रचण्डले केन्द्रको हाउगुजी देखाउन थाल्नु भएको छ । अनि प्रचण्डकै दबाब खेपिरहेका कांग्रेस सभापति देउवा गठबन्धन नभए चुनाव हार्ने डर आफ्ना कार्यकर्तलाई देखाउन थाल्नुभएको छ ।

गठबन्धन गर्दा केही स्थानमा आफ्नो पकड गुम्ने भयमा कांग्रेस कार्यकर्ता छन् । यही दबाब सभापति देउवाले केन्द्रमा इतर समूहका नेताहरुबाट झेल्नु परेको छ ।

गठबन्धन नगर्न पार्टीभित्रको दबाब र जसरी पनि गर्न सत्ता सहयात्री दलहरुको दबाबमा देउवाले कस्तो निर्णय गर्नुहुन्छ त्यो हेर्न बाँकी छ । तर कतिपय स्थानीय तहमा राम्रै पकड बनाएर बसेका नेताहरुलाई गठबन्धनका नाममा केन्द्रबाट लादिने निर्णयले पार्ने अप्ठेरोबारे भने कांग्रेस सजग हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्