राजनीति

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

२०७८ चैत १२ गते १३:३६
आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

१२ चैत २०७८ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ ।

सुनसरीको सदरमुकाम इनरुवामा आज रासससँग कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताउनुभएको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा मात्र गठबन्धन हुन्छ बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका कमीकमजोरीलाई सच्याउँदै साथीहरुसँगको सल्लाह सुझावका आधारमा आवश्यकता र औचित्यको आधारमा गठबन्धन हुन्छ ।”

मन्त्री कार्कीले विकास विनाको राजनीतिले देश र समाजको रुपान्तरण हुन नसक्ने उल्लेख गर्दै अहिले मुलुकको आवश्यकता विकास निर्माण, सुशासन, कानुनी शासनको प्रत्याभूति हो, त्यसका लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले तोकिएकै मितिमा सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “स्थानीय तहको निर्वाचन वैशाख ३० गते शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित किसिमले उत्साहपूर्ण रुपमा सम्पन्न हुन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्