चिनियाँ विदेशमन्त्री वाङ यी आज उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने

१२ चैत २०७८ काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुुनुहुन्छ ।
चिनियाँ विदेशमन्त्री वाङले नेपाली समकक्षी डा नारायण खड्कासँग दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयमा भेटवार्ता गरेपछि उहाँको औपचारिक भेटवार्ता शुरु हुनेछ । त्यसलगत्तै दुई मुलुकबीच प्रतिनिधिमण्डलस्तरीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएका छ ।
परराष्ट्रका अधिकारीले कम्तिमा आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको जनाएका छन्। केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो।
आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा वाङले पौने ६ बजे शिष्टाचार भेटवार्ता गर्नु हुनेछ। भेटवार्ता लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरिनेछ। पोखरा विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हो।
यसैबीच हाइकिङका शौखिन चिनियाँ विदेशमन्त्री वाङ अहिले शिवपुरीमा हाइकिङका लागि जानु भएको छ ।
यता भोलि बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई होटल हायातमा भेट्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्री डा खड्काको निमन्त्रणामा हिजो तीनदिने भ्रमणमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ भोलि दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया