Main News

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : विकास र व्यापारको मौका (भिडियो रिपोर्टसहित)

२०७८ चैत ११ गते २१:१३
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : विकास र व्यापारको मौका (भिडियो रिपोर्टसहित)

११ चैत २०७८ काठमाडौं । यतिबेला चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा हुनुहुन्छ । यो बेला नेपाल सरकारले मुलुकको आर्थिक विकासका लागि पूर्वाधार र लगानी प्रवर्द्धनमा जोड दिनुपर्ने बताइएको छ। योसँगै अन्तरदेशीय व्यापारका लागि फ्रि ट्रेड एग्रिमेन्ट गर्न र नाकालाई सुचारु गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्ने सुझाव निजी क्षेत्रको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने पहिलो उच्च पाहुना हुनुहुन्छ । तीन दिने नेपाल भ्रमणमा आएका मन्त्री वाङ यीसँग नेपालले पूर्वाधार विकास, अनुदान सहायता र व्यापार विस्तारमा जोड दिनुपर्ने बताइएको छ ।

चीनसँग नेपालको व्यापार घाटा बढ्दै गएको छ । चालू आर्थिक वर्षको आठ महिनामै १ खर्ब २७ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा निर्यात ५४ करोड ५८ लाख रुपैयाँको मात्र भएको छ । गत आर्थिक वर्षमा आयात २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको भएको छ । दुई देशबीचको ब्यापार घाटाको खाडल पुर्न चीन सरकारसँग फ्रि ट्रेड एग्रिमेन्ट गर्नुपर्ने सुझाव निजी क्षेत्रको छ।

योसँगै चीन सरकारको सहयोगमा नेपालमा सडक, रेल र जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने सम्झौता ४ वर्ष अघि नै भएको थियो । २०७६ असोज २५ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा पनि पूर्वाधार, कृषि, जलविद्युत, शिक्षा र स्वास्थ्य लगायत १८ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको प्रभावकारी कार्यान्वयनमा पनि सरकारले जोड दिनुपर्ने सुझाव छ ।

राष्ट्रपति सीले नेपालको विकासका लागि ५६ अर्ब रुपैंया अनुदान दिने प्रतिवद्दता गर्नुभएको थियो । तर आजका दिनसम्म यी बिषय कार्यान्वयनमा जान सकेका छैनन् । नेपालले समयमै आवश्यक गृहकार्य नगर्दा चिनियाँ पक्षले चासो दिएका सम्झौता समेत अलपत्र छन् । ती प्रतिवद्धता कार्यान्वयनका लागि नेपालले विदेशमन्त्री वाङ यी को भ्रमणलाई अवसरको रूपमा लिन सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *