बजेट अभावमा प्रदेश १ का आयोजना अलपत्र (भिडियो रिपोर्टसहित)
११ चैत २०७८ काठमाडौं । बजेट अभावका कारण प्रदेश १ को विकास निर्माण प्रभावित बनेको छ । प्रदेश सरकारले अघि सारेका गौरव आयोजनाका काम नै सबैभन्दा बढी प्रभावित भएका छन् ।
बहुवर्षीय योजनाका रुपमा सरकारले २ करोडदेखि डेढ अर्ब रुपैयाँसम्मका तीन सय वटा आयोजना गत वर्षदेखि थालेको थियो ।
प्रदेश १ सरकारले गौरवको योजनाका रुपमा केही स्थानमा सडक र पुल निर्माण रहेको छ ।
प्रदेश गौरवका आयोजनाः
–मोरङको घिनाघाट–विराटचौक सडक
–कुशेचौरी पथरीशनिश्चरे सडक
–किसानचौक–टाँडी सडक
–सुनसरीको भोक्राहा–नरसिंह सडक
–मोरङको गडिया खोलामा निर्माणधिन पुल
–कर्सियाको मरिया खोलामा पुल
अहिले बजेट अभाव भएपछि २१ वटा आयोजना छनौट गरेर काम भइरहेको छ । तर, प्रदेश सरकारले बजेट दिन नसकेपछि भुक्तानीमा समस्या भएको छ । जसका कारण निर्माणका काम अलपत्र परेका छन् ।
प्रदेश सरकारसँग चालु आर्थिक वर्षमा मात्र साना–ठूला गरी तीन सय वटा आयोजना रहेका छन् । सरकारले रकम दिन नसक्दा अधिकांश काम रोकिएको पूर्वाधार विकास कार्यालयले स्वीकार गरेको छ ।
प्रदेश सरकारले गौरवको आयोजना अन्तर्गत सुनसरी र मोरङमा मात्र ८ अर्बभन्दा बढीको सडक र पुल प्रदेश सरकार अन्तर्गत निर्माणाधीन छन् । यी सबै सडक नियमित भुक्तानीकै अभावमा लक्ष्य अनुरुप काम हुन सकेको छैन । सरकारले बजेट अभावका कारण आयोजना प्रभावित हुन नदिन बर्गिकरण गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारले १ अर्ब रुपैयाँ माथिका बहुवर्षीय योजना सञ्चालन गरेको छ । तर ती योजना सम्पन्न गर्न पनि बजेट अभाव भएको छ । जसले तोकिएको समयमै निर्माण सम्पन्न नहुने निश्चित छ ।
प्रतिक्रिया