राजनीति

पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा

२०७८ चैत ११ गते १६:२२
पूर्ण नभए आंशिक तालमेल हुन्छ, गठबन्धन टुट्दैन : प्रवक्ता खतिवडा

११ चैत २०७८ जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भन्नुभयो, ‘‘हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छाँैं, कांग्रेसभित्र दुई थरी विचार रहेकाले तालमेल नहुन पनि सक्छ ।”

यस्तो अवस्थामा (नेकपा माओवादी) केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच तालमेल हुने उहाँको भनाइ थियो । कांग्रेससँग चुनावी तालमेल नभए पनि राजनीतिक गठबन्धन नटुट्ने खतिवडाले बताउनुभयो । राष्ट्रियताको रक्षाका लागि, प्रतिगमनकारी षड्यन्त्रविरुद्ध र लोकतान्त्रिक एकताका लागि गठबन्धनलाई कायम राखेर अघि बढ्नुपर्नेमा गठबन्धन दलहरु एकमत रहेको उहाँले बताउनुभयो ।

चुनावी परिणामको डरले नभइ मुलुकलाई अझै केही समय सहकार्यको संस्कृतिमा हिँडाउनुपर्ने परिस्थितिका कारण आफुहरु गठबन्धनमा जोड दिइरहेको उल्लेख गर्दै खतिवडाले राष्ट्रियताका पक्षधर जुनसुकै शक्तिसँग आफूहरु सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । प्रवक्ता खतिवडाले घोषणापत्र तयार गर्ने काम भइरहेकाले केही दिनभित्रै पार्टीले जारी गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्