Main News

महानगर प्रमुख सरावगीका अवधारणा अधुरै (भिडियो रिपोर्टसहित)

२०७८ चैत ८ गते २१:१०
महानगर प्रमुख सरावगीका अवधारणा अधुरै (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पहिलो स्थानीय तहको निर्वाचनमा चुनावी घोषणापत्रमा बेरोजगारी अन्त्य, बाटो, विद्यालय, बिजुली र बैंक गरी ५ बको अवधारणा प्रस्तुत गर्नुभएको थियो । तर उहाँको कार्यकाल सम्पन्न हुँदासम्म धेरै कामहरु अधुरै रहेका छन् ।

स्थानीय पालिकाको नेतृत्व हत्याउन आम नागरिकलाई विकासको बहार ल्याउने सपना देखाउन माहिर जनप्रतिनिधिहरुले पाँच वर्षको अवधिमा के गरे ? हामीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको बाचालाई नियाल्ने प्रयास गरेका छौं । उहाँको मुख्य नारा थियो, भ्रष्टाचारमा शून्य सहनशीलता तर, भ्रष्टाचारको जालो फैलियो ।

स्थानीय तहबाट दिने सेवा सुविधा घर दैलोमै पु¥याउने, प्रत्येक वडामा बाल उद्यान, स्लेट टु स्लाईड अभियान अन्तर्गन विद्यालयबाट अधुनिक शिक्षा प्रदान गर्ने, पछि गाभिएका १६ वटा वडामा ५ वटा मदर कलेज स्थापना गर्ने आश्वासन बाँडिएको थियो । बकरी से ब्याचलर तक भन्ने अभियान सञ्चालन गर्ने, महानगरपालिकामा अध्ययन केन्द्र, आधुनकि पुस्तकालय, ई–लाईब्रेरी स्थापना गर्ने, कक्षा ११–१२ मा विपन्न जेहेन्दार बालिकालाई ल्यापटप वितरण गर्ने बाचा त कता हरायो–हरायो ।

बेरोजगार युवाको सीप विकास गर्न तालिम केन्द्र स्थापना गर्ने, स्वरोजगार हुन उत्प्रेरित गर्न सामुहिक जमानीमा बिनाधितो ऋण उपलब्ध गराउने एजेण्डा जनप्रतिनिधिले भुसुक्कै विर्सिए । सरावगीले ५० वर्षमा नभएको विकास ५ वर्षमै देखाउने मिठो कुरा सुनाउनुभएको थियो, तर कहाँ विकास भयो, नागरिकले पत्तै पाएनन् । सिर्सिया नदी दुबैतिर ४० फिट चौडा सडक र नाला बनाउने, स्याटलाइट सिटी बनाउने, नगरका हरेक महिलालाई रोजगार दिने, १० लाख विरुवा रोप्ने, महानगरपालिकामा सरकारी कामकाजको भाषा भोजपुरी बनाउने जस्तै धेरै सपना बाँडिएको थियो ।

त्यसो त जनप्रतिनिधि आएपछि वीरगञ्ज महानगरपालिकामा कामै नभएको भने होईन, अलपत्र अवस्थामा रहेको वीरगञ्जको नयाँ बस टर्मीलनको योजना सम्पन्न भई सञ्चालनमा आएको छ । एसियाली विकास बैंक मार्फत सडक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएका छन् ।अलपत्र अवस्थामा रहेको फोहोरमैला प्रशोधन केन्द्र निर्माण योजना सम्पन्न गरी सञ्चालनमा ल्याईएको छ ।

वीरगञ्जमा १२ करोडको लागतमा फोहोर पानी प्रशोधन केन्द्र र ६ करोड २२ लाखको लागतमा अस्पतालजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा छ । महानगरले घण्टाघर नजिकै विपी उद्यानको जग्गामा पर्खाल लगाएर अक्रिमण हुनबाट जोगाएको छ । पार्किङ स्थल, सडक, नाला, विद्यालय भवन, मन्दिर, मस्जिद जस्ता भौतिक पूर्वाधार निर्माणका काम भएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि ‘वीरगञ्जको मोडल’ को अझैपनि चर्चा हुने गरेको छ । त्यस्तै ‘उज्यालो वीरगञ्ज’ परियोजना मार्फत वीरगञ्ज महानगरपालिकामा पछि थपिएका १६ वटा वडामा अटो सेन्सर लाईट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ठूला सपना होइन, साना–साना काम प्रभावकारीरुपमा गरे नागरिकको दैनिकी सहज हुन सक्छ । नसक्ने ध्वाँस दिनुभन्दा सम्भव हुने काम गर्दा नागरिकको मन जित्न पर्खिनुपर्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *