Main News

पोखरा महानगरपालिका : धेरै काम अधुरै (भिडियो रिपोर्टसहित)

२०७८ चैत ८ गते २१:०४
पोखरा महानगरपालिका : धेरै काम अधुरै (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ पोखरा । ठूला शहर, ठूला सपना तर पूरा गर्ने लालसाको अभाव । यस्तै नियतिमा पिरोलिएका छन्, महानगरपालिकाका नागरिक । स्मार्ट सिटीको अवधारणा स्यालको हूँय्या झैं भटाभट उद्घोष गरेका महानगरपालिकाका जनप्रतिनिधिहरुले पछाडि फर्केर आफ्ना प्रतिवद्धता हेरेकै छैनन् । यस्तै नियतिभित्र पोखरा महानगरपालिका पनि परेको छ ।

देशकै पर्यटकीय नगरी हो, पोखरा । तर, फेवातालको सफाइमा चासो नदेखाएकोदेखि स्वच्छ पोखराको अवधारणालाई अन्देखा गर्ने काम भयो । मेयर मानवहादुर जिसीले केही बाचा गर्नुभएको थियो । उहाँको बाचा कति पूरा भयो कि भएन ? एक पटक समीक्षा गरौं ।

पोखरा लेखनाथ महानगरपालिकाको फिर्के खोला अतिक्रमण रोक्ने प्रतिवद्धता असफल भयो । शहरलाई अव्यवस्थित तार हटाएर सफा पोखरा बनाउने अभियान, अभियानमा मात्र सीमित बन्यो । यो फोहोरले त्यही देखाउँछ ।

सार्वजनिक जमित अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु भएपनि पूरा हुन सकेन । जमिन अतिक्रमण उस्तै छ । त्यति मात्र होइन, पोखराको पहिलो आकर्षण फेवातालको गेग्रान हटाउने काम धुमधाम सुरु भएपनि निरन्तरता नै दिइएन ।

फेवातालको सीमांकन सकिए पनि अहिलेसम्म मापदण्ड तोक्नै सकेन महानगरले । यी त महानगरले सहजै सक्ने काम थिए, जुन पूरा हुनै सकेन । बाँकी घोषणापत्रमा स्मार्ट सिटी, मेट्रो रेल, मेट्रो बस, व्यवस्थित पार्किङ, ताल संरक्षण, युवा स्वरोजगारलाई प्राथमिकतामा राखिने उल्लेख गरिएपनि त्यो सपनामा मात्र सिमित बन्यो ।

अर्कोतिर नागरिकका लागि सडक, खानेपानी, विजुली, सञ्चार, फोहर व्यवस्थापन, ढल निकास, एकीकृत सेवा दिन स्मार्ट कार्डको एजेण्डा त जनप्रतिनिधिले घाममै सुकाइदिए । बल्लतल्ल सार्वजनिक सवारीमा विद्युतीय भुक्तानी प्रयोगमा ल्याइएपनि प्रभावकारी बन्नै सकेन । यस्ता थुप्रै आश्वासन उधारो रहे ।

मुख्य सहरी क्षेत्रभित्रका टेलिफोन तार हटाई अप्टिकल फाइबर जडान गर्ने, बिजुलीको तारलाई भूमिगत गर्ने योजना सुरुवात नै भएन । सडकमा साइकल लेन, फ्लाइओभर, टनेल बनाउने विषय पनि घोषणापत्रका पानामा नै सिमित रहे ।

यी त घोषणापत्रमा उल्लेख प्रतिवद्धताहरु विर्सिएको प्रसंग हो । तर, महानगरले ३३ वटै वडा कार्यालयमा इन्टरनेट सेवा जडान गरेको छ भने सबैखाले राजस्व संकलन, घरनक्सा पास, सूत्र प्रणालीमा आधारित बजेट विनियोजन, सम्झौता, भुक्तानी वडाबाटै हुने भएपछि नागरिकले केहि सहज अनुभूत गरेका छन् ।

महानगरले २ सय ३१ किलोमिटर सडक ग्राभेल, १ सय ३७ किलोमिटर सडक कालोपत्र, ८३ किलोमिटर साना तथा मझौला सडक ढलान र ३७ किमि सडक मर्मत तथा स्तरोन्नति भयो । सृजनाचोकमा आकासे पुल निर्माण कार्य सम्पन्न भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *