Main News

विराटनगर महानगरपालिका : जनतासँगका बाचा केही पूरा धेरै अधुरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते २०:४७
विराटनगर महानगरपालिका : जनतासँगका बाचा केही पूरा धेरै अधुरा (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ विराटनगर । अधिकार सम्पन्न स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा चुनावको समयमा गरिएका बाचा, घोषणापत्र र जनअपेक्षा कार्यान्वयनमा विराटनगर महानगरपालिका पछाडी परेको छ।

विराटनगर महानगरपालिका नेतृत्वले जनतासँग गरेको केही बाचा पूरा भएका छन्, केही निरन्तर काम भैरहेको छ भने धेरै बाचाहरु अपुरै छन् ।

यो विराटनगर महानगरपालिका हो । प्रदेश १ को एक मात्र यो महानगरपालिकाले अर्बमा बजेट विनियोजन गर्दै आएको छ । तर, नागरिकले समृद्धिको अनुभूति गर्न पाएनन् । महानगरको विकासका नामा जनप्रतिनिधिहरुले ठूला सपना देखाए ।

हेरौं मेयर भीम पराजुलीका चुनावी प्रतिवद्धताः
–महानगरमा पर्ने कोशी राजमार्गमा आकाशे पुल बनाउने
–पार्किङसहितको २१ तले सपिङ कम्प्लेक्स बनाउने
–बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने
–बधशाला निर्माण गर्ने
–विराट राजाको दरबारलाई विश्व सम्पदा सूचीमा राख्ने
–नगरमा स्वच्छ खानेपानीको व्यवस्था
–केसलीया र सिंघिया खोलामा तटबन्ध गर्दै ग्रिनबेल्ट बनाउने
–महानगरभित्रका सबै ग्राभेल सडकलाई चार वर्षभित्र कालोपत्रे गर्ने
–भूउपयोगी नीति लागू गरी बजारको विकास र विस्तार गर्ने
–रुग्ण उद्योग सञ्चालनमा ल्याउने
–किसान, महिला उद्यमीलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउने

यी बाहेक पनि धेरै प्रतिवद्धता जनाए थिए । निर्वाचनमा जारी गरिएको ४५ बुँदे प्रतिज्ञा पत्रमा ताररहित विराटनगर, बालउद्यान, पौडी पोखरी, बाइपास रोड, औद्योगिक क्षेत्र, खेल मैदान तथा मनोरञ्जन पार्क निर्माण गर्ने भनिएको थियो।

त्यस्तै, फोहोरमैला व्यवस्थापन, दुई वर्षभित्र औद्योगिक कृषि प्रदर्शनी स्थल निर्माण, सुपथ मूल्य पसलहरू र सुख्खा बन्दरगाह निर्माण लगायतका बाचा पनि अलपत्र परे । पाँच वर्षको अवधिमा कति काम भए वा प्रतिवद्धतामा मात्र सिमित रहे । हामीले खोतल्ने प्रयास गरेका छौं । यो महानगरभित्र घाँसचौक,बरगाछी र कंचनबारी क्षेत्रमा आकाशे पुल बनाउने प्रतिवद्धता थियो तर, प्रयास नै गरिएन ।

मेयर भीम पराजुलीले अण्डरग्राउण्ड पार्किङसहित २१ तले सपिङ सेन्टर बनाउने ठूलो सपना देखाउनुभएको थियो । त्यसका लागि त्यहाँ रहेका पसलहरु पनि हटाइयो । तर, निर्माणको चालचुल नै छैन ।

संरचना बनाइएपनि बधशाला सञ्चालनमा आउनै सकेको छैन । त्यतिमात्र होइन, केसलीया र सिंघिया खोलामा तटबन्ध गर्दै ग्रिनबेल्ट बनाउने सपना अधुरै रह्यो । भूउपयोगी नीति लागु गरी बजारको विकास र विस्तार गर्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धताका कुरा त मेयर पराजुलीले विर्सिसक्नुभएको होला । किसान, महिला उद्यमीलाई सहुलियत व्याजमा ऋण उपलध्व गराउने कुरा पनि कुरामै सिमित बन्यो ।

गरिएका बाचा किन पूरा भएन ? यसको जवाफमा महानगरपालिकाका पदाधिकारी भन्छन्–संघ र प्रदेशले सहयोग नै गरेनन् । तर, जानकारहरु आफ्नो असफलता ढाक्न अरुलाई दोष लगाएर उम्कने चालवाजी मात्रै भएको बताउँछन् ।

केही कामको सुरुवात चाँही विराटनगर महानगरपालिकाले गरेको रहेछ । बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने काम सुरु मात्र गरिएको छ । केही स्थानबाहेक सडक पीचको काम पनि भएका छन् । त्यससँगै नगरभित्र खानेपानी पनि पुर्याइएको छ । यी केही सामान्य काम गरिएपनि शहरको स्वरुप दिनेगरी गरिएका प्रतिज्ञा कागजमै सिमित बनेको छ । नेताज्यूहरु, अब कुन मुख लिएर नागरिकको घरदैलोमा पुग्नुहुन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *