Main News

एमाले पोलिटब्युरो बैठक आज बस्दै, स्थानीय चुनावबारे छलफलको तयारी

हिमालय टिभी
२०७८ चैत ७ गते ७:११
एमाले पोलिटब्युरो बैठक आज बस्दै, स्थानीय चुनावबारे छलफलको तयारी

७ चैत २०७८ काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ ।

सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । यही चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो ।

यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो । स्थायी कमिटीको बैठक यही चैत १३ गते हुनेछ ।

सचिवालयको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट भई जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो ।

नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीबाट भई सोबारे प्रदेश कमिटीले निर्णय गर्र्ने सचिवालयको निर्णय छ ।

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयनको सिफारिश जिल्ला र प्रदेश कमिटीले गर्ने र सोबारे केन्द्रले निर्णय गर्ने सचिवाललयको प्रस्ताव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *