Main News

पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७८ फागुन २७ गते ९:२५
पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

२७ फागुन २०७८ काठमाडौं । आज र भोलि देशको पहाडी भूभागको एकदुई ठाउँमा पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पहाडी भेगको एकदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । देशको पहाडी भुभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, बागमती र प्रदेश १ को उच्च हिमालीको भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

भोलि दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का उच्च हिमालीको भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि रातिदेखि भने यो प्रणाली कमजोर हुने भएकाले पर्सिको मौसम सामान्यतया सफा रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । केही दिनयता मौसम सफा हुँदा बिहान बेलुकी हल्का चिसो भएपनि दिउँसो गर्मी बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *