Main News

निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै

हिमालय टिभी
२०७८ फागुन २७ गते ७:३९
निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै

२७ फागुन २०७८ काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

“निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो”, उहाँले भन्नुभयो ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *