Main News

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

हिमालय टिभी
२०७८ फागुन २२ गते ७:१८
गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

२२ फागुन २०७८ काठमाडौं । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो ।

बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो । गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा सत्याग्रहले बताएको छ भने अन्य थप प्रतिनिधि भने विषयगतरूपमा छानिने जनाइएको छ । दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिकपत्र पठाइने दूतावासले जनाएको छ ।

दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह सङ्घर्ष समिति, गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएशन (नेसा) र गोर्खा जस्टिस ग्रुपआबद्ध गोर्खा अभियानकर्मी सहभागी रहेको र दूतावासबाट राजदूतसँगै वार्ता समितिमा सदस्यसमेत रहेका उपनियोग प्रमुख खनाल र मिलिटरी एट्याची रत्नबहादुर गोदारको सहभागिता रहेको जनाइएको छ ।

नेपाल सरकारले गोर्खा वार्ताका लागि राजदूत ज्ञानचन्द्र आचार्यका नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो । राजदूत आचार्यको पहिलो प्राथमिकता गोर्खाको समस्या समाधान गर्न पहल गर्ने रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.