Main News

सुखानीका सहिद : व्यवस्था नयाँ जनताको अवस्था उही (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २१ गते २०:५३
सुखानीका सहिद : व्यवस्था नयाँ जनताको अवस्था उही (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७८ काठमाडौं । झापा विद्रोहका पाँच सहिदले ज्यानको आहुति दिएको पचास वर्ष पूरा भएको छ । सुखानी सहिद दिवसका रुपमा स्मरण गरिने फागुन २१ गतेको दिन सहिदहरुलाई माल्यार्पणको औपचारिकतामा सीमित हुने गरेको छ। तर व्यवस्था परिवर्तन र कम्युनिष्ट पार्टीलाई संस्थागत गर्न बगाएको रगत र पसिनाको मूल्य भने उनै सहिदहरुले स्थापना गरेका पार्टीले समेत भूलिसकेका छन् ।

जहाँनिया राणा शासनको अन्त्य गरी २ हजार सात सालमा प्रजातन्त्र स्थापना भए पनि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र हरण गरिदिनुभयो । राजा महेन्द्रले शुरु गरेको पञ्चायती शासनविरुद्ध दलहरु संगठित बन्न सकिरहेका थिएनन् । मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेसले थालेको विद्रोह सफल भइरहेको थिएन । कम्युनिष्ट पार्टी छिन्नभिन्न अवस्थामा थियो । समाजमा थिचोमिचो, अन्याय अत्याचार, गरिबी र अशिक्षा व्याप्त थियो ।

नागरिकका मौलिक हक हनन् भएका थिए । यस्तोबेला पञ्चायती व्यवस्थाविरुद्ध विद्रोह गर्नु चुनौतिपूर्ण थियो । यही शोषण र थिचोमिचो विरुद्ध लड्न झापामा केही कम्युनिष्ट विचारधाराका युवाहरुले विद्रोह गर्ने निर्णय गरे ।

राधाकृष्ण मैनालीको नेतृत्वमा झापा जिल्ला कोर्डिनेशन कमिटी गठन भयो । कमिटीमा मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल, केपी शर्मा ओली र सीपी मैनाली हुनुहुन्थ्यो ।

यिनै युवाहरुकै बलमा विस्तारै आन्दोलन शुरु भयो । गाउँगाउँमा तत्कालीन शासन व्यवस्थाविरुद्ध जनचेतना जगाउने काम शुरु भयो । आफूविरुद्ध शुरु भएको आन्दोलन शासकका लागि मन पर्ने कुरै थिएन । त्यसैले विद्रोहलाई दबाउन तत्कालीन सरकारले २०२९ साल फागुन २१ गते विद्रोहमा होमिएका केही युवाहरुलाई गिरफ्तार गर्‍यो ।

गिरफ्तार भएका रामनाथ दाहाल, वीरेन्द्र राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलामको सुखानी सामुदायिक वनको चारकोशे झाडीमा हत्या गरियो । आन्दोलनमा होमिएका युवाहरुको हत्या र गिरफ्तारीपछि झापा आन्दोलन केही सुस्तायो । तर पञ्चायती शासनको थिचोमिचोमा परेको समाजमा आन्दोलनको उभार भुसको आगो झैँ देशभर फैलिएसकेको थियो । यही आन्दोलनको राप छिन्नभिन्न भएका कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आधार बन्यो ।

झापा विद्रोहका संस्थापकमध्ये केपी ओली अहिले नेकपा एमालेका अध्यक्ष हुनुहुन्छ । सीपी मैनाली नेकपा मालेका महासचिव हुनुहुन्छ । आन्दोलनलाई पहिलो नेतृत्व दिएका राधाकृष्ण मैनाली राजनीतिप्रतिको वितृष्णाले अहिले स्वतन्त्र भूमिकामा हुनुहुन्छ । सुखानीका पाँच सहिद र त्यसपछि विभिन्न समयमा ज्यानको आहुति दिएका योद्धाहरुको रगतको जगमा स्थापित आजका कम्युनिष्ट पार्टीहरु भने समाज रुपान्तरणभन्दा पनि व्यक्तिमूखी र निजतामै रमाइरहेका छन् ।

सहिदहरुले देखाएको बाटोबाट विमुख भएकै कारण आज कम्युनिष्ट पार्टीमा विचलन आएको र फरक फरक समूहमा विभाजित हुनु परेको मैलानीको स्वीकारोक्ति छ । अहिले पनि विदेशमुखी र जनविरोधी नीतिहरु अवलम्बन गरिँदै आएकाले राजनीति, प्रशासन, शिक्षा, संस्कृति, विदेशनीति आदिमा क्रान्ति गरी जनमुखी परिवर्तन गर्नु नै सहिदप्रति सच्चा श्रद्धान्जली हुने मैलानीको ठहर छ ।

सुखानीकै सहिदको जगमा स्थापित कम्युनिष्ट आन्दोलनले देशको नेतृत्वमा पुर्‍याएपछि आन्दोलनका सबै मुद्दा बिर्सिएर सत्ताकै चास्नीमा डुबुल्की मार्दैगर्दा सहिदहरुको आत्माले के भन्दो हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *