Main News

टुँडिखेलमा यस्तो देखियो सेना दिवस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १७ गते १८:३२
टुँडिखेलमा यस्तो देखियो सेना दिवस (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७८ काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग हो नेपाली सेना । विपद् व्यवस्थापनमा देखिएको कुशलता र अन्तर्राष्ट्रिय मिसनमा प्राप्त सफलताले नेपाली सेना विश्वभर बहादुर गोर्खाका नामले परिचित छ । करिब दुई सय ६० वर्ष पूरानो इतिहास बोकेको नेपाली सेनाले आज भव्य रुपमा आफ्नो स्थापना दिवस मनाएको छ ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी आफ्नो दिवस मनाएको छ । दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहमा सैनिक कौशल देखाइयो । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलाप अवलोकन गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायतको सहभागिता रह्यो । समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै शिवरात्रि र सेना दिवस लेखिएको ब्यानर प्रदर्शन गरेको थियो।

दिवसका अवसरमा महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसहितका प्रदर्शन गरिएको थियो ।

समारोहमा आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी पनि भएको थियो । सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरे ।

गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनाले साङ्गठनिक स्वरूप ग्रहण गरेको १८१९ सालदेखि हो । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले संगठिन सैन्य संरचना बनाउनु भएको हो ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । राष्ट्रसङ्घीय शान्ति स्थापनामा खटिन थालेको नेपाली सेनाले हालसम्म ४३ शान्ति मिसन अन्तर्गत एक लाख ४० हजारभन्दा बढी सैनिकले विश्वका विभिन्न देशहरुमा शान्ति स्थापनाका लागि योगदान दिएको छन् । सेना पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा पनि सक्रिय छ । तर व्यापार र निर्माणका क्रममा केही विवादमा पनि परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *