Main News

भक्तपुरका शिवालयमा भक्तजनको घुइँचो

हिमालय टिभी
२०७८ फागुन १७ गते ८:२५
भक्तपुरका शिवालयमा भक्तजनको घुइँचो

१७ फागुन २०७८ भादगाउँ । महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेव र भक्तपुर नगरस्थित दत्तात्रय मन्दिरका साथै विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।

शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ ।

महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत समितिले मिलाएको छ । साँझ पाँच प्रहरको विशेष पूजाका साथै आरती गर्ने व्यवस्था गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिनुभयो ।

महाशिवरात्रिका लागि डोलेश्वर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । मूल मन्दिर, मूल प्रवेशद्धारलगायत स्थानमा फूलैफूलका मालाले सिङ्गारिएको छ । पछिल्लो समय डोलेश्वरमा शिवरात्रिका अवसरमा भक्तजनका साथै स्वदेश र विदेशबाट समेत उल्लेख्यरूपमा साधुसन्त र बाबाहरूको आगमन हुने गरेको छ । यस वर्ष महाशिवरात्रिका लागि करिब २५० साधुसन्त डोलेश्वर आइपुगेको कोषाध्यक्ष बल्ले बताउनुभयो ।

साधुसन्तलाई निःशुल्क भोजनका साथै धुनी बाल्न आवश्यक दाउरा समितिले उपलब्ध गराएको छ । साधुसन्तलाई शिवरात्रिपछि वर्गानुसार दक्षिणा र उपहार दिएर बिदा गरिने कोषाध्यक्ष बल्लले जानकारी दिनुभयो ।

गलेश्वरमा भक्तजनको घुइँचो
म्याग्दी–पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रि पर्वका अवसरमा दर्शन र पूजाआजाका लागि आएका भक्तजनको भीड लागेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायतका जिल्लाबाट महाशिवरात्रि पर्वको मेला भर्न आएका भक्तजनको घुइँचो लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । सोमबार साँझदेखि नै भक्तजन आउन थालेका थिए ।

बीस हजार जनाभन्दा बढी भक्तजनले गलेश्वर दर्शन गर्ने कोषले अनुमान गरेको छ । महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थितरूपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूहलगायत सामाजिक र धार्मिक सङ्घसंस्थासँग समन्वय गरेर २३ वटा उपसमिति परिचालन भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरिने मेलामा आउने भक्तजनलाई मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । शिवरात्रिका अवसरमा महाबत्ती बाल्ने ब्यवस्थालाई निरन्तरताका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने सुविधा थपिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्रि, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धारका रूपमा चिनिन्छ । द्धापरयुगमा सतिदेवी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पूरा हुने विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *