Main News

संसद बैठक आज बस्दै, एमसीसी छलफलका लागि पेश गर्ने कार्यसूची

हिमालय टिभी
२०७८ फागुन १५ गते ७:५१
संसद बैठक आज बस्दै, एमसीसी छलफलका लागि पेश गर्ने कार्यसूची

१५ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा सहमति नहुँदा पटक पटक सारिएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने उल्लेख छ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।

देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ पेश गर्नुहुने कार्यसूचीमा उल्लेख छ। यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा गत बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो।

शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आज बस्ने गरी सारिएको हो। गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।

आजको बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ। कार्यव्यवस्था समितिको बैठकअघि आजै सत्तारूढ गठबन्धनको बैठक पनि बस्दैछ ।

बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसीको मस्यौदामा सहमति गरेर अघि बढ्ने आधिकारिक निर्णयको तयारी भएको जनाइएको छ । तर नेकपा एकीकृत माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरू ब्याख्यात्मक घोषणा गरे पनि एमसीसीको पक्षमा मतदान गर्न नसकिने बताउँदै आएका छन् ।

गठबन्धनका दलहरूबीच सहमति जुटे एमसीसीमा आजै सैद्धान्तिक छलफल सकेर निर्णयार्थ पेश गर्ने तयारी भएको जनाइएको छ । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भनेर अमेरिकाले दिएको अन्तिम समयसीमा भोलि सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *