राजनीति

दुत्कारिएका ओली अहिले किन सबैको आशाको केन्द्र ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १४ गते २०:१२
दुत्कारिएका ओली अहिले किन सबैको आशाको केन्द्र ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७८ काठमाडौं । संसद विघटन र तत्कालीन नेकपाभित्रको एकाधिकारका कारण निकै दुत्कारिएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले दलहरुको आशाको केन्द्र बन्नु भएको छ । एमसीसी पारित गर्न वा फेल गराउन सहयोग माग्नेहरु अहिले ओलीका पाउमा पुग्नुपर्ने अवस्था आइलागेको छ ।

कुनै समय शेरबहादुर देउवाले शासनसत्ता कम्युनिष्टहरुको हातमा गए रुन पनि पाइन्न भन्नुहुन्थ्यो । नेकपा एमाले र नेकपा माओवादीले गठबन्धन गरेर चुनाव लड्दै गर्दा देउवालाई सबै कम्युनिष्ट एक भएपछि कांग्रेसको अस्तित्व नै डगमगाउने डर थियो । त्यसैले उहाँले कम्युनिष्टहरुले जिते सर्वसत्तावाद हाबी हुने र अधिनायकत्व उदाउने अभिव्यक्ति दिनुहुन्थ्यो । तर देउवाको यो त्रासपूर्ण अभिव्यक्तिले मतदाताहरु डराएनन् ।

निर्वाचनमा एमाले–माओवादी गठबन्धनले दुईतिहाई नजिक मत प्राप्त गरी चुनाव जित्यो र सरकार बनायो । सरकार गठनसँगै पार्टी एकीकरणमा होमिएका यी पार्टी नेकपा बनेपछि आफैभित्रको अन्तरविरोध र प्रतिशोधको राजनीतिमा केन्द्रित बने ।

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिदिनुभयो । देउवामा आफूले भनेको अधिनायवादी चरित्र प्रमाणित भएको आत्मरति देखियो । यही आत्मरतिलाई चुनावमा रुपान्तरण गरेर ठूलो पार्टी बन्ने आकांक्षाले देउवाले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा बढी ओलीले नै भनेजस्तो चुनावमै जोड दिनुभयो । तर प्रकारान्तरले देउवा प्रधानमन्त्रीको कुर्सीमा पुग्नुभयो ।

देउवालाई प्रधानमन्त्री बनाउने दल र नेताहरुको एकमात्र चाहना थियो ओलीलाई सडकमा निकाल्नु, विपक्षीमा पुराउनु, अथवा कुनै पनि मूल्यमा सत्ताच्यूत गर्नु । ओली बरकरार रहे संकट थप चुलिन्छ, देश तहसनहस हुन्छ, संविधानको हत्या हुन्छ, मुलुकमा तानाशाही जन्मिन्छ भन्नेहरु थिए, जसले देउवालाई बोकेर प्रधानमन्त्रीको कुर्सीमा राखिदिए । ओलीसँग असन्तुष्ट दल र नेताहरुको बलमा प्रधानमन्त्री बनेका देउवालाई सरकारको अविछिन्न उत्तराधिकारीको हैसियतमा एमसीसी पारित गर्नु थियो ।

एक त कांग्रेसकै पालामा भएको सम्झौता थियो एमसीसी, अर्कोतर्फ कांग्रेस एमसीसीलाई प्रतिष्ठाको विषय बनाइरहेको थियो । देउवालाई प्रधानमन्त्री बनाउने दल र नेताहरु भने एमसीसीका विषयमा पहिलेदेखि नै दोधारमा थिए । तत्कालीन समयमा ओलीविरुद्ध हुने प्रदर्शनमा समेत कतिपय ठाउँमा कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाइदिँदा संकटमा पर्ने गरेका नेताहरु अझैसम्म पनि एमसीसीमा प्रष्ट छैनन् । केहीले पक्ष वा विपक्षमा निर्णय गरिसकेको भए पनि एमसीसीको विषय अझैसम्म पनि सौदामै सीमित देखिन्छ ।

त्यसैकारण अहिले देउवा सरकारका सहयात्री दलहरु गठबन्धन टिक्ने भए एमसीसीमा चुप लाग्न तयार छन् । तर गठबन्धन कुनै पनि हालतमा भत्किन नहुने उनीहरुको एक र अन्तिम चाहना छ । ओलीलाई सत्ताच्यूत गर्न एक भएका र देउवालाई चिल्लो दली–दली प्रधानमन्त्रीको कुर्सीमा राखिदिएका दलहरु एमसीसी प्रकरणमा भने देउवासँगै त्रस्त बनेका छन् ।

उनीहरु देउवाको एमसीसी पारित गर्ने अठोट र पार्टीभित्र एमसीसी पारित गर्नै हुन्न भन्ने दबाबका बीचमा फेरि ओलीको शरणमा पुग्नुपर्ने अवस्था आइलागेको छ । यही प्रकरणका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक ओलीसँग कुरा गरेर एमसीसी प्रकरणबाट आफूलाई जोगाउन याचना गरिसक्नु भएको छ ।

एमाले फुटालेर एकीकृत समाजवादी गठन गर्नुभएका माधव कुमार नेपाल ओलीकै शरणमा नपुगे पनि एमसीसीको गाँठो ओलीले फुकाइदिए हुन्थ्यो भन्नेमा देखिनु भएको छ । सरकारमा बस्ने तर एमसीसीलाई फेल बनाउन लागिपरेका सहयात्री दलबाट आजित देउवा पनि अहिले ओलीकै शरणमा पुग्नुभएको छ । ओलीसँग तारन्तार छलफल गर्दै सर्तहरु सुन्दै फर्किँदै फेरि ओलीलाई भेट्ने ड्युटी देउवाले निभाइरहनु भएको छ । तर ओलीका शर्तहरुले एमसीसीको गाँठो सहजै फुक्ने देखिँदैन ।

तैपनि हिजो अधिनायवादी र सर्वसत्तावादीको पगरी गुथेर बालकोटको बार्दलीमा पुर्‍याइएका ओली एमसीसी पास गराउने वा फेल गराउने सबैको आशाको केन्द्रमा देखिनुभएको छ । तर पाँच वर्षे जनादेश पाएर पनि तीन वर्षभित्रै सत्ताच्यूत बनाउन सक्रिय नेताहरुको घाँटीमा अड्किएको हड्डी सहजै निकालिदिन ओली तयार देखिनुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्