राजनीति

एमसीसी प्रकरणः यस्तो दोधारमा प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १४ गते २०:०५
एमसीसी प्रकरणः यस्तो दोधारमा प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन टुटाएर अघि बढ्ने कि जोगाएर भन्नेमा दोधारमा देखिनुभएको छ । एमालेले सत्ता गठबन्धन तोडे मात्र आफ्नो साथ रहने स्पष्ट सन्देश दिंदा सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गर्नका लागि अरु उपाय खोज्न आग्रह गरेका छन् । यस्तो अवस्थामा देउवा आफैं अलमलमा पर्नुभएको छ ।

बिहीबार र शुक्रबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक सरकारकै आग्रहमा स्थगन भयो । सत्ता गठबन्धनभित्रकै मतभेदका कारण एमसीसीमाथिको सैद्धान्तिक छलफलको कार्यसूची पटकपटक प्रभावित बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भइसकेको एमसीसीमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजिरहनुभएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले सघाउनुपर्ने र एमाले आफैले यसअघि संसदमा टेबल गरेको प्रस्ताव भएकाले एमालेले पनि नैतिक रुपमा असहयोग गर्न नमिल्ने भन्दै प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ । तर, ठोस सहमति भने जुटेको छैन।

एमालेले सत्ता गठबन्धन तोडे मात्र आफ्नो साथ रहने स्पष्ट सन्देश दिएको छ । निर्वाचनसम्म गठबन्धन जोगाउनका लागि सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसीमा लचिलो बन्ने भन्दै देउवालाई फकाउँदै छन् । यस्तो अवस्थामा देउवा यता, कि उता भन्नेमा प्रष्ट हुन सक्नुभएको छैन । जब–जब एमालेसँग घनिभूत छलफल हुन्छ तब–तब माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रधानमन्त्री फकाउन पुग्छन् । जसले गर्दा गिजोलिएको राजनीतिले पार पाउन सकेको छैन । शनिबार पनि प्रमुख सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेका नेताहरुबीच छलफल भयो ।

गठबन्धनमा रहेको माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीमा मतदान नगर्ने हो भने गठबन्धन निरन्तर हुन नसक्ने बताइसक्नुभएको छ । तर, उनीहरुले एमसीसीमा सहयोग नगर्ने र गठबन्धन पनि नछाड्ने अडान कायमै राखेका छन् । जसले गर्दा जसरी पनि एमसीसी पारित गराउन चाहेको कांग्रेस एमालेलाई विश्वासमा लिने कसरतमा छ । तर, एमालेले पनि सहयोगका लागि शर्तहरु अघि सारेपछि छलफल सकारात्मक भएको बताइए पनि कुनै सहमति जुटिसकेको छैन ।

गठबन्धन तोड्ने निर्णयमा कांग्रेस पुगेमा एमसीसीमा एमाले सहयोग गर्न तयार हुने देखिन्छ । तर, प्रधानमन्त्री देउवाले गठबन्धन कायम राखेसम्म एमालेले एमसीसीमा सरकारलाई साथ नदिने पक्का छ ।

सत्ता गठबन्धनलाई एमसीसीमा मनाउने वा गठबन्धन तोडेर एमालेसँग सहकार्यको हात अघि बढाउने भन्नेमा देउवा द्विविधा नतोडिएसम्म एमसीसीलाई लिएर संसदमा जारी अन्योल कायमै रहने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्