Main News

प्रतिनिधि सभामा आज एमसीसीमाथि छलफल हुँदै

हिमालय टिभी
२०७८ फागुन १२ गते ८:५५
प्रतिनिधि सभामा आज एमसीसीमाथि छलफल हुँदै

१२ फागुन २०७८ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि पेश हुने भएको छ ।

सरकारले आइतबारको बैठकमा टेबल गरेको एमसीसी आज छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार छलफलका लागि पेश भएपछि प्रतिनिधिसभा सदस्यले यसबारेमा आ–आफ्नो धारणा राख्नेछन् । त्यसपछि एमसीसीका बारेमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि पारित गरिनेछ ।

सरकारको नेतृत्व गरिरहेको पाँच दलको गठबन्धनमा अहिलेसम्म कांग्रेसले एमसीसी संसद्बाट पारित गर्ने निर्णय गरेको भएपनि अरु दलले भने अहिलेकै अवस्थामा पारित हुन नहुने बताइरहेका छन् ।

यसैबीच कांग्रेसले आजको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमसीसीबारे सैद्धान्तिक छलफल हुने भएकाले सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले भने गठबन्धन जोगाउनका लागि मात्रै एमसीसी टेबल गर्न दिएको बताउँदै यसको पक्षमा मतदान नगर्ने बताएको छ । हिजो काठमाडाँैमा शुरु भएको माओवादी केन्द्र बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

सत्ताघटक अर्को दल नेकपा एकीकृत समाजवादीले भने एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । तर, मतदानको प्रक्रियामा गएको खण्डमा सांसदहरूलाई मतदान नगर्न ह्वीप लाउने, नलाउने बारेमा भने अझै पनि निर्णय भएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै यसमा नसघाउने बताएको छ । एमाले नेता विशाल भट्टराईले आफूहरूको माग पूरा नभएसम्म संसदको विजनेस अगाडी बढ्न नदिने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता विमल श्रीवास्तवले जानकारी दिनुभयो ।

यस्तै जनता समाजवादी पार्टी (जसपा)ले पनि एमसीसीलाई पारित गर्नुपर्ने बताइसकेको छ । एमसीसी पारित गर्नका लागि हालसम्म कांग्रेसलाइ, जसपा र लोसपाको साथ रहने देखिएको छ । नेकपा एकीकृत समाजवादीले सांसलाई ह्वीप नलाएको खण्डमा केही सांसदहरू थपिन सक्ने देखिएको छ ।

यद्यपि आज दिउँसोसम्मको राजनीतिक परिस्थितिले एमसीसी स्वीकार हुने नहुने निर्धारण हुनेछ । एमसीसीको विरोधमा नागरिकस्तरबाट पनि प्रदर्शन भइरहेको छ । एमसीसी संसदमा पेस भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *