Main News

एमसीसीमाथि संसदमा छलफल हुनुअघि दलहरु आन्तरिक र बहुपक्षीय परामर्शमा व्यस्त

हिमालय टिभी
२०७८ फागुन ११ गते ७:४४
एमसीसीमाथि संसदमा छलफल हुनुअघि दलहरु आन्तरिक र बहुपक्षीय परामर्शमा व्यस्त

११ फागुन २०७८ काठमाडौं । संसदमा एमसीसीको विषयमा छलफल हुनअघि दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा व्यस्त भएका छन् ।

आइतबार सदनमा टेबल भएको एमसीसीमा भोलिदेखि सांसदहरूले छलफल गर्दैछन् । छलफलपछि फागुन १६ भित्र निर्णायार्थ पेस गर्ने तयारी छ ।

त्यसबेलासम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र गठबन्धनका बाँकी दललाई सहमतिमा लिने प्रयास कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ ।

सोही प्रयोजनका लागि उहाँले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुभएको छ । तर एमालेले अझै पनि प्रष्ट धारणा नदिएपछि देउवाले गठबन्धनकै मुख्य दुई घटक माओवादी र एकीकृत समाजवादीलाई फकाउने रणनीति लिएको कांग्रेस नेताहरूले जनाएका छन् ।

आजै कांग्रेस नेताहरूले माओवादी र एकीकृत समाजवादीका नेतासँग छलफलको तयारी गरेका छन् । देउवाले एमालेसँग पनि छलफलका लागि मीनेन्द्र रिजालसहितको टोली खटाउनुभएको छ ।

कांग्रेस जसरी पनि एमसीसी पास गर्ने अडानमा रहँदा माओवादी र एकीकृत समाजवादी त्यसको विपक्षमा मत हाल्ने बताउँदै आएका छन् । सदनमा पुगेपछि धारणा दिने बताउँदै आएको एमाले अवरोध हट्नु पर्ने आफ्नो अडानमा कायमै छ ।

तथापि एमसीसी पास गराउन अमेरिकी राजदूत र्‍यान्डी बेरीले समेत बालकोटमै पुगेर ओलीलाई दबाब दिनुभएको छ । यसपछि एमाले के गर्ने भन्नेमा आन्तरिक परामर्शमा जुटेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरु पनि गठबन्धन जोगाउँदै एमसीसीको विषय टुंग्याउने गरी आन्तरिक परामर्शमा जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *