Main News

प्रदेश १ को नाममा जुटेन सहमति, दलहरू आफ्नै अडानमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १० गते २०:२१
प्रदेश १ को नाममा जुटेन सहमति, दलहरू आफ्नै अडानमा (भिडियो रिपोर्टसहित)

१० फागुन २०७८ काठमाडौं । प्रदेश १ को नामकरणका लागि सहमति खोज्न बोलाइएको सर्वदलीय बैठकमा दलहरू आ–आफ्नै अडानमा देखिएका छन । सत्तारुढ गठबन्धन पहिचानको आधारमा नामकरण हुनुपर्ने धारणा राखिरहँदा प्रमुख प्रतिपक्ष एमाले गठबन्धनको साझा धारणा आएपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने रणनीतिमा छ ।

प्रदेश सरकारले प्रदेश १ को नामकरणका लागि दलहरुबीच सहमति जुटाउन सर्वदलीय बैठक बोलायो । मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको बैठकमा सत्ता गठबन्धनमा रहेका दल पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा देखिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्ता गठबन्धनको तर्फबाट साझा धारणा आए पछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । सत्तारुढ दलहरुको साझा धारणाबाट नाम आए त्यही नाममा छलफल गर्नसमेत एमाले तयार देखिएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले ७ प्रदेशमध्ये नामकरणको काम सबैभन्दा ढिलो हुनु लज्जाको विषय भएकाले सबैले जिम्मेवार भएर नाम टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले प्रदेशको नाम टुङ्गो लगाउन प्रयत्न गरिरहे पनि पार लगाउने सम्भावना भने कम छ । तत्कालीन नेकपा एक्लैको दुई तिहाइ भएको अवस्थामा समेत नाम टुङ्गो लाग्न सकेको थिएन ।

९३ सदस्यीय प्रदेश सभामा एमालेको मात्र ४० सांसद छन् । दुई तिहाइका लागि ६२ मत आवश्यक पर्ने भएकाले एमालेको सहयोगबिना नामकरण हुने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *