के होला एमसीसी ? यस्तो छ अंकगणित (भिडियो रिपोर्टसहित)
१० फागुन २०७८ काठमाडौं । सडक र सदनमै विरोध हुँदाहुँदै पनि एमसीसी संसदमा पेश भएको छ । संसदमा दर्ताको भएको ३२ महिनापछि एमसीसी बल्न संसदमा पेश भएको छ । संसदमा पेश हुँदा काठमाडौको बानेश्वर क्षेत्र राणभूमि बन्यो । संसदभित्र समेत होहल्ला बिचमै पेश गरिएको थियो । यसरी पेश गरिएको एमसीसी पास हुन्छ की हुँदैन भन्ने आम चासोका साथ हेरिएको छ ।
एमसीसी अब के हुन्छ ?
राजनीतिक दलहरुबीच मतभेद रहेको एमसीसी संसदमा उपस्थित सांसदको साधारण बहुमतले पारित हुन सक्छ । २७५ जनामध्ये अहिले २७१ सांसद छन् ।
अहिले सांसदको अवस्थालाई हेरौं
एमाले– ९७
नेपाली कांग्रेस– ६३ (दुई सांसद निलम्बनमा)
माओवादी केन्द्र– ४८ (सभामुख–१ )
नेकपा एकीकृत समाजवादी– २३
जनता समाजवादी पार्टी– १९ (दुई सांसद निलम्बनमा)
लोकतान्त्रिक समाजवादी पार्टी– १३
राप्रपा–१
राष्ट्रिय जनमोर्चा– १
नेमकिपा–१
स्वतन्त्र सांसद– १
नेपाली कांग्रेसका २ जना सांसद विजयकुमार गच्छदार र अफताब आलम निलम्बनमा छन् भने जसपाका हरिनारायण रौनियार र रेशम चौधरी जेलमा भएका कारण संसद बैठकमा सहभागी हुन पाउँदैनन् । यसरी २७१ बाट ४ जना कम हुँदा २६७ सांसद बैठकमा सहभागी हुनेछन् ।
यदि २६७ जना बैठकमा उपस्थित भए, बहुमत पुर्याउन १ सय ३७ सांसद चाहिन्छ । सभामुखले संसदमा ध्वनि मत विभाजनको आधारमा एमसीसीबारे निर्णय लिन सक्ने व्यवस्थासमेत छ ।
प्रतिनिधि सभाको नियमावली २९ को मत विभाजनमा २८ जना सांसदले आफ्नो स्थानबाट असहमति प्रकट गरेमा सभामुखले पक्ष र विपक्षमा मतदान गराउन सक्ने व्यवस्था छ। अर्कातर्फ ध्वनिमत, हुन्छ वा हुन्न भन्ने व्यक्त गर्नका लागि सहभागी सांसद सदनमा उपस्थित हुनुपर्छ । एमालेका सांसदहरुले भने बैठक शुरु हुने बित्तिकै रोष्टम घेराउ गर्दै विरोध गर्दै आएका छन् । एमसीसीसम्बन्धी प्रस्तावमाथिको मतदानमा एमाले सहभागी नभए पनि उनीहरुको संख्या गणना हुन्छ ।
तर, बहिष्कार गरेर बाहिरिए भने सरकारलाई सहज हुन्छ । एमालेका ९७ सांसदले बहिष्कार गर्दा कुल उपस्थित सांसद १ सय ७० मात्र गणना हुन्छ । यो संख्या सदन सञ्चालनका लागि आवश्यक गणपूरक मानिन्छ । अर्थात एक चौथाई सांसद उपस्थित भए प्रक्रियामा लैजान बाधा पर्दैन । उपस्थित १ सय ७० सांसदको बहुमत ८७ हुन आउँछ ।
यस्तो अवस्थामा एमसीसीको पक्षमा बहुमत पुर्याउन कांग्रेसलाई जसपा र लोसपाको साथ चाहिन्छ । जसपामा विवाद छ । बाबुराम भट्टराई समूह पारित गर्नुपर्ने पक्षमा छ भने उपेन्द्र यादव समूहले मुख खोलेको छैन । भट्टराईले आफूसँग १२ सांसद रहेको दाबी गर्नुभएको छ ।
यही अवस्थामा भट्टराई पक्षले साथ दिने र लोसपाको समेत जोड्दा एमसीसी सहजै पास हुन्छ । त्यस्तो अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत हाले पनि फरक पर्दैन । तर यी दुई दलले सदन बहिष्कार गर्ने हो भने कांग्रेस र लोसपा मिल्दा मात्र पनि बहुमत हुन्छ ।
संसद चल्नका लागि कुल सांसदको एक चौथाइ सांसद अनिवार्य उपस्थित हुनुपर्छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सदन बहिष्कार गर्दा सांसद उपस्थित संख्या १०० हुन आउँछ । यसको बहुमत संख्या ५१ मात्र हुन आउँछ । यसो हुँदा कांग्रेस एक्लैले बहुमत पुर्याउन सक्छ । एमालेले सदन बहिष्कार नगर्ने तर, विरोध कायमै राखे बहुमत पुग्न सक्दैन ।
अर्कोतर्फ अहिलेसम्म माओवादी ४८ र एकीकृत समाजवादीका २३ र ४ जना स्वतन्त्र गरी ७५ सांसद एमसीसीको विपक्षमा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय नै गरिसकेका छन् । यस्तो अवस्थामा एमालेले बहिष्कार वा पक्षमा मतदान गर्नैपर्छ । तर अहिलेसम्म एमाले मौन छ । यसरी हेर्दा संसदमा एमसीसी टेबल भए पनि पास हुने सम्भावना निकै कम छ तर एमालेले कांग्रेसलाई साथ दिए एमसीसी पास हुन्छ अन्यथा फेल हुन्छ ।
प्रतिक्रिया