राजनीति

समाजवादीले भन्यो एमसीसीको विपक्षमा उभिन्छौँ, भनेन- सरकार छोड्छौँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ९ गते २१:०७
समाजवादीले भन्यो एमसीसीको विपक्षमा उभिन्छौँ, भनेन- सरकार छोड्छौँ (भिडियो रिपोर्टसहित)

९ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा टेबल गरिएपछि विवाद चुलिएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीको विरुद्धमा मतदान गर्ने निर्णय गरेको छ । एमसीसीकै कारण पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालकै बिचमा मेतभेद देखिएको थियो । दुई नेताका बीचमा वान टु वान वार्तापछि बसेको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

विवाद र विरोधका बीच आइतबार संसदमा एमसीसी टेबल भएपछि नेकपा एकीकृत समाजवादीमा मतभेद सिर्जना भएको थियो । एमसीसीमा शुरु देखिनै दोहोरो चरित्र देखाउँदै आएको एकीकृत समाजवादीमा एमसीसी टेबल भएपछि अन्तरविरोध बढेको थियो । सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णयविपरीत अध्यक्ष माधव नेपालले गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति दिएको आरोप लगाउनु भएको थियो भने संसदमै विरोध जनाउनु भएको थियो ।

एमसीसी संसदमा टेबल हुँदै गर्दा नेपाल भने मौन बस्नु भएको थियो । पार्टीका दुई शीर्ष नेताहरुकै बीचमा मतभेद भएपछि सोमबार दिउँसो एक बजे बोलाइएको सचिवालय बैठक स्थगित गरी वान टु वान वार्ता भएको थियो ।

काठमाडौंको थापागाउँस्थित एक कलेजमा भएको छलफलमा नेपाल र खनालसहित बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतका नेताहरु सहभागी भएका थिए । दुई शीर्ष नेताबीचको छलफलपछि बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

एमसीसी टेबल गरिए सरकार छाड्नेसम्मको चेतावनी दिएको अवस्थामा अध्यक्ष नेपालले गठबन्धनमा सहमति गरेपछि पार्टीभित्रै प्रश्न उठेको थियो । खनालले विरोध गरे पनि एकीकृत समाजवादीकै अन्य नेताहरुले भने पार्टीको स्थायी कमिटीको बैठकको सहमतिमै एमसीसी टेबल गर्न दिने निर्णय गरेको दाबी गर्दै आएका थिए ।

सचिवसमेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संशोधन गर्ने गुञ्जायज हुँदाहुँदै पनि संसदमा पर्याप्त छलफल गर्न एमसीसी टेबल गर्न दिन पार्टीमा सर्वसम्मत निर्णय भएको दाबी गर्नु भएको थियो ।

समाजवादीले पार्टीमा बढ्दो अन्तरविरोध मथ्थर पार्न एमसीसीको विपक्षमा मदतान गर्ने निर्णय गरे पनि सरकार छोड्ने वा एमसीसीको पक्षधर कांग्रेस नेतृत्वको सरकारमा बसिरहने भन्नेबारे भने निर्णय गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्