आज पनि देशका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

९ फागुन २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया